Logo

विशेष सम्पादकीयः अब माटो र मानिसको सही सदुपयोग



नयाँ वर्षसँगै नयाँ आशाका किरणहरु हामी नेपालीका घर आँगनमा छरिएका छन् । २०७९ साल हाम्रा लागि निकै महत्वपूर्ण छन् । राजनीतिक रुपमा हामी स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनमा जाँदैछौं । हामीले हाम्रा स्थानीय एकाईदेखि देखि केन्द्र सम्म आफ्ना जनप्रतिनिधिहरु चयन गर्नेछौं । हाम्रो मतबाट चयन हुने जनप्रतिनिधिले अबको पाँच वर्ष हाम्रा लागि नीति नियम र कानून समेत बनाउनेछन् । यसकारण पनि हामीले कस्तो जनप्रतिनिधि चयन गर्ने हाम्रो हातमै छ ।

विगतमा भएका कमी कमजोरीबाट शिक्षा लिएर आगामी वर्षहरुमा देश, समाज, परिवार र आफ्ना लागि सुन्दर भविष्य कोर्नु हाम्रो दायित्व पनि हो । सामाजिक रुपमा देशमा धेरै परिवर्तनहरु सुस्तरी भइरहेका छन् । देशमा परिवर्तनसँगै परम्परागत सुसंस्कार, संस्कृतिको संरक्षण र संवद्र्धनको जागरण पनि आएको छ । हामीले आमूल परिवर्तनका नाममा पूर्वजले स्थापित गरेका सही मूल्य र मान्यताहरुलाई बचाइराख्नुपर्छ भन्ने जागरण पनि विकास गरेका छौं । यी विषयहरु घर घर हुँदै चीसा पसल देखि सार्वजनिक थलोहरुमा बहस बनेको छ । हामीले हाम्रो समाज र समाजका सदस्यहरुमा सही बहस गराएर शान्ति, सद्भाव, मेलमिलाप, एकता र सक्रियताको भावना जागृत गर्नुपर्छ ।

आर्थिक रुपमा हामीले गत दुई वर्षहरुमा कोभिड १९ को चुनौतीसँग जुध्दा धेरै समस्याहरु झेल्यौं । तर, हामी नेपाली कोही भोकै रहँदैनौं भन्ने प्रष्ट भइसकेको छ । एकले अर्कालाई पर्दा सहयोग गर्ने हाम्रो परम्परा अर्थतन्त्रसँग पनि जोडिएको छ । विश्वमा युद्ध र महामारीले संकटहरु आउँदा पनि हाम्रो देशमा किन आइरहेको छैन ? यो प्रश्नहरुको उत्तर खोज्दै गर्दा हाम्रो अर्थतन्त्रको जग पनि विचारणीय पक्ष हो । पछिल्लो समय हामी विद्युतमा लगभग आत्मनिर्भर हुनु, आन्तरिक रुपमा कृषि उत्पादन बढाउनुपर्ने जागरण आउनु, हाम्रो आफ्नै जलस्रोत हुनुले पनि हामीलाई संकटमा पर्न दिएन । अर्कोतर्फ, समुदायमा आधारित आर्थिक संघ संस्थाहरु मजबुत छन् । तिनले लोककल्याणकारी कार्यहरु पनि गरेका छन् । यो हाम्रा लागि मात्र नभई बाह्य विश्वका लागि पनि विकासको उदाहरणीय पक्ष हो ।

आर्थिक क्षेत्रको अर्को पक्ष हामी आयातमुखी बन्दै जानु गम्भीर विषय हो । आयातमुखी अर्थतन्त्रले देशमा संकट ल्याउँछ । अत्याधिक निर्यातमुखी अर्थतन्त्र पनि खतरामा पर्न जान्छ । देशभित्र जनताका लागि पुग्ने गरी उत्पादन हुन जरुरी छ । धान, गहुँ, मकैं, कोदो, फापर, जौं, तोरी, दाल, फलफूल, दूध, माछामासु, आदिमा हामी आत्मनिर्भर बन्न सक्छौं । तर, हामीले अरबौंको यी उत्पादन आयात गरेका छौं । यो अर्थतन्त्रका लागि सकारात्मक होइन । अर्कोतर्फ, आन्तरिक रोजगारी सृजनामा चुकेका छौं । सही दिमागलाई देशभित्रै उपयोग गर्न उत्तिकै आवश्यक छ । कुनैपनि राज्य श्रम गर्न सक्ने शक्तिको निर्यात गरेर समृद्ध हुन सक्दैन । हामीले माटो र मानिसको सही सदुपयोग गर्न सकेनौं ।

राजनीतिक रुपमा हामीले विगत वर्षहरुमा निकै उतारचढावहरुको सामना गरेका छौं । कुनै पनि प्रधानमन्त्री पाँच वर्ष टिक्न नसकेको इतिहास पुनः दोहोरिएको छ । तर, लोकतान्त्रिक प्रणाली भने झन् बलियो भएको छ । संसदीय व्यवस्था अन्तर्गत संसदले चाहेमा परिवर्तन गर्न सक्ने सबैजसो विषयहरु छन् । त्यसमा व्यक्तिहरु आउने जाने क्रम चलि नै रहन्छ । तर, हामीले राजनीतिक संस्कृतिको विकास कसरी गरेका छौं ? त्यो गम्भीर प्रश्न हो । जनतालाई वाचा गर्ने, प्रतिवद्धता जनाउने तर पूरा नगर्ने, भ्रमको खेती गर्ने, कार्यकर्तालाई अन्धभक्त बनाउने परिपाठी क्षणभरका लागि उपयोगी सावित होला तर त्यसले देशको भविष्यमाथि दूरगामी असर गर्छ । यसतर्फ हामी सचेत हुनु जरुरी छ । देशभक्ति ओठमा नभई व्यवहारमा हुन जरुरी छ । माटोलाई सम्झेर देशहितका लागि साँच्चै काम गर्ने राजनीतिक नेतृत्व गाउँ टोलबाट जन्मनुपर्छ । यो हामीले नै गर्न सक्छौं । हामीले माटो र मान्छेको सदुपयोग गर्नुपर्छ ।

अन्तमा नयाँ वर्ष २०७९ सालमा हाम्रा पाठकवर्ष, दर्शक तथा स्रोताहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । सबैको भलो होस् । सबैको कल्याण होस् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot