Logo

सुदूरपश्चिममा कृषि बीमाः शतप्रतिशत अनुदान हुँदा समेत बढेन दायरा



काठमाडौं, बैशाख २ । सुदूरपश्चिमका किसानले कृषि तथा पशु बीमा गर्दा सरकारबाट शतप्रतिशत अनुदान पाउँछन् । कृषि तथा पशु बीमामा केन्द्रीय सरकारले ८० प्रतिशत अनुदान दिने व्यवस्था छ । यस्तै सुदूरपश्चिम प्रदेशले थप २० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ ।

निःशुल्क बीमा गर्न पाउने अवस्था हुँदा पनि त्यहाँका किसान कृषि बीमाको दायरामा आउन नसकेको देखिएको छ । बीमा समितिको एक उच्चस्तरीय टोलीले हालै सुदूरपश्चिममा बीमाको अवस्थाबारे बुझ्न विशेष भ्रमण गरेको थियो । सो क्रममा शतप्रतिशत अनुदान पाउने अवस्थामा समेत बीमाको दायरा नबढेको पाइएको छ ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले अनुदान पाउँदा पनि सुदूरपश्चिमका किसान बीमाबाट वञ्चित भएको बताए । ‘सुदूरपश्चिम प्रदेशले कृषि बीमामा २० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ ।

केन्द्रीय सरकारले पनि ८० प्रतिशत अनुदान दिँदै आएको छ,’ उनले भने, ‘त्यो हिसाबले बीमामा किसानको पहुँच बढ्नुपर्ने हो । तर, उनीहरू बीमाको दायरामा आएको देखिएन ।’

बीमा समितिको तथ्यांकले पनि त्यसको पुुष्टि गरेको छ । समितिका अनुसार कृषि बीमा व्यवसायमा सुदूरपश्चिमको अंश ४ प्रतिशत मात्र छ । २० निर्जीवन बीमा कम्पनीले गत माघमा कृषि बीमाबाट १७ करोड २८ लाख रुपैयाँ संकलन गरेका छन् । त्यसमा सुदूरपश्चिमबाट ६५ लाख संकलन भएको छ ।

कम्पनीहरूले चासो नदिँदा यस्तो अवस्था आएको अध्यक्ष सिलवालको भनाइ छ । त्यहाँ बीमा कम्पनीहरूको पर्याप्त उपस्थिति नहुँदा यस्तो समस्या देखिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot