Logo

एकसिङे गैँडाको बासस्थान कोसीटप्पुमा विस्तार गरिँदै



काठमाडौं, वैशाख २ । पूर्वी नेपालको कोसीटप्पु क्षेत्रमा विश्वमा दुर्लभ मानिएका एकसिङे गैँडा, कृष्णसार र बाह्रसिँगाको वासस्थान विस्तार गरिने भएको छ ।

प्रदेश १ मा ती वन्यजन्तुको हाल उपस्थिति नभएकाले वासस्थान विस्तार गर्न सकिने सम्भावना रहेका सबै प्रदेशमा वासस्थान विस्तार गर्ने उद्देश्यसाथ सरकारले यो योजना बनाएको हो ।

योजना सफल भए आगामी केही वर्षभित्रै प्रदेश १ को कोसीटप्पु क्षेत्रमा दुर्लभ वन्यजन्तु एकसिङे गैँडा, कृष्णसार र बाह्रसिँगाको झुन्ड देख्न सकिनेछ ।

यो प्रदेशमा वनक्षेत्र भए पनि अरू प्रदेशका तुलनामा दुर्लभ वन्यजन्तुको उपस्थिति निकै न्यून रहेको छ । वन्यजन्तुमा आधारित पर्यापर्यटन विकासका लागि यो प्रदेशमा वासस्थान विस्तार आवश्यक भएको विज्ञहरूले बताउँदै आएका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा एक प्राविधिक अध्ययन कार्यदल निर्माण गरी काम अघि बढाइएको छ ।

सो प्राविधिक कार्यदलले कोसीटप्पु वन्यजन्तु आरक्षको भित्री भागको स्थलगत अध्ययन गरिसकेको छ । प्रारम्भिक प्रतिवेदनलाई आधार मानेर थप गहन अध्ययन गरी ती वन्यजन्तु स्थानान्तरणको निर्णय सरकारले लिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot