Logo

मधेस प्रदेशमा तालमेल आवश्यक छैन, जसले जिते पनि आखिर गठबन्धनभित्रकै दलहरूले जित्ने होः रमेश रिजाल



काठमाडौं, २ वैशाख । नेपाली कांग्रेसका नेता रमेश रिजालले मधेस प्रदेशको परिस्थिति भिन्न भएकाले चुनावमा गठबन्धन आवश्यक नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रिजालले भने, “मधेस प्रदेशमा एमाले तेस्रो, चौथो या पाँचौं पोजिसनमा छ । त्यसैले गठबन्धनका साथीहरुले तालमेल गर्नुपर्ने आवश्यकता छैन । गठबन्धनभित्रै जित्ने अवस्थामा हामी मित्रतापूर्वक प्रतिस्पर्धा गर्न सक्छौं । तर केन्द्रसम्म यो विचार पुगेको छैन । यसबारे म आज सभापति शेरबहादुर देउवासँग कुरा गर्छु ।”
मधेस प्रदेशमा एमालेले जित्ने कुनै सम्भावना नरहेको पनि उनले दोहोर्याए । रिजालले थपे, “हामीले कम्युनिस्टहरुलाई एमालेसँग दूरी बनाएर राख्न खोजेका मात्र हौं । यो वीरगन्ज वा जनकपुरमा एमालेले जित्ने सम्भावना छैन । प्रतिस्पर्धा गठबन्धन दलहरुभित्रै हुने । विगतको डाटा हेर्दा वीरगन्जमा कांग्रेसलाई जसपाले हराएको हो । जसपाका मेयर एमालेमा गइसके । गठबन्धन गर्नु भनेको एमालेलाई अघि बढाउनु हो । गर्नुपर्ने ठाउँमा आवश्यकता अनुसार तालमेल गरौं न । नपर्ने ठाउँमा स्वस्थ प्रतिस्पर्धा गरौं न । जबर्जस्ती गर्दा अनकूल हुँदैन ।”
मधेस प्रदेशमा कांग्रेसका उम्मेदवार तय भइसकेको दाबी उनले गरे । रिजालले भने, “प्रायःजसो ठाउँमा कांग्रेसले एक्लै जित्न सक्छ । त्यसैले धेरै ठाउँमा उम्मेदवार छानिसकेका छन् । सार्वजनिक मात्र नभएको हो । जहाँ हामी जित्न सक्दैनौं, त्यहाँ गठबन्धनकै दललाई छोडौला । बाध्यतात्मक स्थितिमा गरिएको गठबन्धन दुर्घटित हुन सक्छ । यस्तो कुनै आवश्यकता र बाध्यता म देख्दिनँ ।”
काठमाडौं वा पोखरामा नेकपा (एकीकृत समाजवादी)लाई मेयर दिनु भनेको एमालेलाई जिताउनु भएको पनि उनले बताए । उनले भने, “चितवनको परिस्थिति बेग्लै छ । मेयर पायो भने तीनवटा निर्वाचन क्षेत्रमा कांग्रेसलाई सघाउने माओवादीको कुरा छ । तर त्यहाँका हाम्रा साथीहरुलाई कन्भिन्स गर्नुपर्छ । काठमाडौं र पोखरामा माधवजीको दाबी उचित छैन । यसले काठमाडौं वा पोखरामा मेयर जित्ने होइन । त्यो भनेको सीधै एमालेलाई बुझाउनु हो । उसले सोच्नुपर्छ, एमालेलाई हराउने हो कि सबै जना पराजित भएर एमालेलाई जिताउने हो ?”



प्रतिक्रिया दिनुहोस्

Screenshot