Logo

नेकपा (माओवादी समाजवादी) र जनसमाजवादी पार्टी नेपालबीच चुनावी तालमेल गर्ने सहमति



काठमाडौं, २ बैशाख । कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माओवादी समाजवादी) र सुवासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी नेपालबीच आगामी बैशाख ३० गते हुने चुनावमा तालमेल गर्ने सहमति भएको छ ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै दुई पार्टीबीच चुनावी गठबन्धन गर्ने सहमति भएको घोषणा गरिएको हो ।
दुवै पार्टीले आ–आफ्नो चुनाव चिन्ह प्रयोग गरी आगामी स्थानीय तह निर्वाचनमा भाग लिने, दुवै पार्टीको सहमतिमा उम्मेदवारहरु खडा गर्ने र एक पार्टीका उम्मेदवारलाई अर्को पार्टीले सघाउने सहमति भएको छ ।

त्यस्तै, दुवै पार्टीका अध्यक्षको नेतृत्वमा स्थानीय तह निर्वाचन परिचालन निर्देशन समिति गठन गर्ने पनि अर्को महत्वपूर्ण सहमति भएको छ । दुवै पार्टीका पदाधिकारीहरु रहनेगरि निर्वाचन परिचालन संयुक्त कार्यदल गठन गर्ने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकीले राष्ट्रघाती पाँच दलको गठबन्धनविरुद्ध दुई पार्टीबीच चुनावी तालमेल भएको बताए । पाँच दलको गठबन्धनलाई राष्ट्रघातीको संज्ञा दिँदै बुढाथोकीले राष्ट्रघाती गठबन्धनविरुद्ध आफुहरुले चुनावी तालमेलको सुरुवात गरेको र आफूहरुको विजयी सुनिश्चित् रहेको दाबी गरे ।

उनले आफ्नो पार्टी र जनसमाजवादी पार्टी नेपालले जनताको पक्षमा निरन्तर काम गर्दै आएको पनि स्मरण गराए । दुवै पार्टीले क्रान्तिकारी इतिहास बोकेको उनको भनाई थियो । अब दुई पार्टी गठबन्धन गरेर प्रतिबद्धतासहित जनतासामु जान लागिएको र यसले जनतामा उत्साह थप्ने पनि उनले विश्वास दिलाए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिष्टहरुबीच एकता नहोस भनेर पाँच दलीय गठबन्धन गरेको समेत अध्यक्ष बुढाथोकीले टिप्पणी गरे । उनले अब छिट्टै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग वैज्ञानिक समाजवादको लागि एकता गर्ने पनि जानकारी दिए ।
निर्वाचनको समयमा आफुहरुको गठबन्धनले साम, दाम दण्ड र भेदको विरुद्ध क्षेप्यास्त्र तयार गरेको उल्लेख गर्दै चुनावमा जीत/हार जे भएपनि आम जनतालाई आफूहरुले गोलबद्ध गर्न चाहेको उनले स्पष्ट पारे ।

उनले ठूला दलका नेताहरुलाई दलालको संज्ञा दिँदै उनीहरुलाई अब आउने निर्वाचनमा गाउँमा पस्न नदिन पनि आग्रह गर्ने बताए । दुई पार्टीबीच ऐतिहासिक गठबन्धन भएको उल्लेख गर्दै उनले आगामी दिनमा दुई पार्टीको सरसल्लाहमा गठबन्धन अघि बढ्ने बताए । उनले एकले अर्कालाई साथ दिने पनि प्रतिवद्धता गरे । आजको गठबन्धन चुनाव जित्नको लागि मात्र नभई आम वर्गको उत्पीडनको विरुद्ध भएको उनले जिकिर गरे ।

यसैगरी, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्लेले देशमा राष्ट्रघाती र राष्ट्रवादी गरेर दुई पक्ष भएको उल्लेख गर्दै आफुहरु राष्ट्रवादी कित्तामा उभिएको बताए । उनले दुई पार्टीबीचको गठबन्धन अत्यन्तै महत्वपुर्ण र ऐतिहासिक हुनेपनि बताए ।
उनले भने,‘अत्यन्तै छोटो समयमा दुई पार्टीबीच गठबन्धन भएको छ । यो गठबन्धन लामो समय टिकाउन सबैले कसरत गर्नुपर्छ ।’ गठबन्धनलाई सफल बनाउन निकै कसरत गर्नुपर्ने उनले धारणा राखे । ‘गठबन्धन गरेपछि सफल बनाएर देखाउने जिम्मेवारी हाम्रै हो ।’–उनले भने । दुई पार्टीका नेता/कार्यकर्ता मिलेर गठबन्धनलाई परिपक्व ढंगले अघि बढाएमात्रै गठबन्धनले सार्थकता पाउने अध्यक्ष काफ्लेले धारणा राखे ।

उनले भने,‘दुई पक्षले जिम्मेवारी बोध गरेर आपसमा जुटेर अघि बढ्नुपर्छ । चुनावको लागि मात्र नभएर विभिन्न समयमा र समस्यामा पनि हामीबीच तालमेल हुनसक्छ ।’ आफुहरुले गठबन्धन गरेर अन्य दललाई चुनौती दिएको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी समाजवादी) नेता तिलक थापा मगरले अहिलेको संसदीय व्यवस्थाको विकल्पमा जनताले अर्को व्यवस्था खोज्नुपर्ने बताए । उनले भने,‘अबको निर्वाचनमा नेपाली जनताले देश बेच्नेहरु, राष्ट्रियता बेच्ने र राष्ट्रहितको पक्षमा लाग्नेहरुको पहिचान गर्नुपर्छ । देश बेच्नेहरुलाई पनि जिताउने हो वा वैकल्पिक शक्तिलाई जिताउने हो ? यो अब जनताको हातमा छ ।’ उनले नेपाली कांग्रेसले कोशी, महाकाली, गण्डकजस्ता राष्ट्रिय सम्पत्ति बेचेको र कम्युनिष्टहरुले कांग्रेसलाई बेच्न सघाएको आरोप लगाए ।

नेपालका नेताहरुले देशलाई केही नगरेको भन्दै उनले लाखांै युवाहरु अहिलेपनि श्रमको लागि विदेशिन बाध्य भएको सुनाए । नेपालमा उत्कृष्ट अध्ययन हुने संस्था नेताहरुले नबनाएकै कारण युवाहरु विदेश पढ्न जान बाध्यता भएको उनको आरोप छ ।

उनले जनताले देशको हितमा काम नगर्नेहरुलाई छानी छानी चुनावमा ती नेताहरुलाई दण्डित गर्नुपर्ने धारणा राखे । दुई पार्टीबीच आज चुनावी तालमेल गर्ने सहमति भएपनि कालान्तारमा पार्टी एकता गर्नेसमेत उद्देश्य लिएको उनले स्पष्ट पारे । दुई पार्टीबीच भएको सहमतिको सम्झौतापत्र पनि नेता थापाले वाचन गरेका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot