Logo

प्रचण्डको दाबी : यो देशको परिवर्तन र समृद्धिको बाहक नै माओवादी हो भन्ने प्रमाणित भैसक्यो (भिडिओसहित)



काठमाडौं, २ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान मास्न खोज्ने शक्तिका विरुद्ध जनता एकजुट हुन थालेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा नुवाकोट एमालेका पूराना नेता माधव पाण्डेसहितका नेताहरुलाई र मधेश प्रदेशका विभिन्न पार्टी परित्याग गरेकाहरुलाई पार्टी प्रवेश गराउँदै दाहालले यस्तो बताएका हुन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली नुवाकोट पुगेकै दिन एमालेका पूराना नेता माओवादी केन्द्रमा प्रवेश गरेको भन्दै यसलाई सुखद् सन्देशको रुपमा लिनुपर्ने बताए ।

दाहालले देशको परिवर्तनको बाहक, विकास र समृद्धिको बाहक पनि माओवादी केन्द्र हो भन्ने कुराको सन्देश आजकै पार्टी प्रवेश कार्यक्रमले स्पष्ट पारेको सुनाए । उनले भने,‘तपाईँहरुले यो देशको समृद्धिको नेतृत्व गर्ने शक्ति नै माओवादी हो भन्ने प्रमाणित गर्नुभएको छ, तपाईहरुलाई धन्यवाद भन्न चाहन्छु ।’

उनले केही समय पहिले माओवादीको बारेमा भ्रम रहेको भएपनि अहिले त्यो भ्रम हटिसकेको दाबी गरे । उनले गत साल संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षड्यन्त्र भएको स्मरण गराउँदै भने,‘गत साल जति बेला संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने षडयन्त्र भयो, प्रतिगामी षडयन्त्र भयो, प्रतिक्रान्ति निम्त्याउने षडयन्त्र भयो, त्यसका विरुद्ध हामीले संघर्ष गर्‍यौ र हामीले त्यसमा सफलता प्राप्त गर्यौं ।’

उनले देशका मधेशी, थारु, आदिवासी, जनजाति, महिला, मुस्लिम सबै समूदायको पहिचान र अधिकारको लडाईँ माओवादी केन्द्रले लडेर स्थापित गरेको दाबी गरे । उनले यसलाई उल्टाउने तत्वहरुको विरोधमा फेरि एकपटक नेपालका राष्ट्रका सम्पूर्ण जनता एकजुट हुन थालेको आफूले महशुस गरेको सुनाए । उनले आजको पार्टी प्रवेश कार्यक्रमलाई आन्दोलनको सन्देशको रुपमा बुझ्न पनि आग्रह गरे ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्

Screenshot