Logo

फोहोर नछुट्याइए कारबाही



काठमाडौ, वैशााख ३ । काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन छुट्टाछुट्टै गर्ने भएको छ । त्यसका लागि महानगरले फोहोर उत्सर्जनकर्तालाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गर्न आग्रहसमेत गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले सहज र वैज्ञानिक रूपमा फोहोर व्यवस्थापन गर्नका लागि महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । अब महानगरले हप्ताको तीन दिन कुहिने र हप्ताको एक दिन नकुहिने फोहोर सङ्कलन गर्ने निर्णय गरेको जानकारी उहाँले दिनुभयो । उहाँका अनुसार महानगरले यो निर्णय केही दिनभित्रै कार्यान्वयनमा ल्याउने छ ।

उनले भने, ‘‘अब फोहोर उत्सर्जनको मुख्य स्रोत घरबाट नै कुहिने र नकुहिने फोहोर छुट्याउँदै जाने नीति महानगरले लिएको छ । अब घरवालाले नै फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै ल्याउनुपर्ने हुन्छ ।’’ कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै सङ्कलन गर्दा सोको व्यवस्थापनमा समेत सहज हुने बताउँदै उहाँले छुट्याइएको फोहोर लिने गाडी पनि फरकफरक दिन आउने भएकाले व्यवस्थापन गर्न थप सहज हुने विश्वास व्यक्त गरे ।

कुहिने र नकुहिने वर्गीकरण नगरी फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म फोहोर ल्याए सम्बन्धित व्यक्तिको घरमा नै पुनः फर्काइने बताउँदै उनले सो व्यक्तिलाई कारबाहीस्वरूप पाँच सय रुपियाँ जरिवानासमेत गर्ने जानकारी दिए । महानगरको निर्णयलाई नमानेको अवस्थामा फोहोरमैला व्यवस्थापन ऐन २०६८ अनुसार दण्डजरिवाना गर्ने महानगरले जनाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot