Logo

महिला प्रतिनिधित्वमा गठबन्धनको प्राथमिकता छैनः पद्मा अर्याल



काठमाडौं, ३ वैशाख । नेकपा एमालेकी सचिव पद्मा अर्याल स्थानीय तहको निर्वाचनमा गठबन्धनका कारण महिला प्रतिनिधित्व अत्यन्त न्यून हुने बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ अर्यालले भनिन्, “एक त कानुनी हिसाबले बाध्यकारी प्रबन्ध नभईकन महिला उम्मेदवारीका निम्ति दलहरु तयार छैनन् । त्यसमाथि ५ दलीय गठबन्धनका कारण महिला प्रतिनिधित्व अत्यन्त न्यून हुने भयो । गठबन्धन महिला प्रतिनिधित्वका सवालमा संकुचित र अनुदार छ । यो मुलुकको संविधानको भावनाविपरीत हुन्छ । लैंगिक समानताका लागि प्रतिनिधित्व प्रमुख कुरा हो ।”
तर उनले एमालेले हिजोको भन्दा बढी महिला प्रतिनिधित्व गराउने दाबी गरिन् । अर्यालले भनिन्, “अघिल्लो निर्वाचनमा उपप्रमुख महिलाको बिर्ता जस्तो थियो । यस पटक गठबन्धनले त्यो पनि नगर्ने भयो । तर एमालेले हिजोको भन्दा बढी महिला प्रतिनिधित्व गराउँछ । उपप्रमुखमात्र होइन, प्रमुखमा पनि संख्या बढ्छ । यति मात्र होइन, एमालेले दलित महिलाको प्रतिनिधित्व पनि बढाउँछ ।”
एमालेले साना दललाई उद्धार गर्न तालमेल गर्न लागेको पनि सचिव अर्यालले बताइन् । उनले भनिन्, “एमाले एक्लै जान नसकेर होइन, ठाउँ अनुसार कुनै न कुनै शक्तिसँग तालमेल गर्नु स्वाभाविकै हो । ५ गठबन्धनको गठबन्धन बनेपछि हामीले साना दलको उद्धार गरिदिन लागेका हौं । हामी राष्ट्रिय रुपमा अनिवार्य होइन, जहाँ जसको शक्ति छ, उसलाई थोरै हात दिएका हौं ।”
चुनावलाई खर्चिलो हुन नदिन नीतिगत परिवर्तन आवश्यक भएको उनको भनाइ छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot