Logo

“वडा समेत आफ्नै बुतामा लड्न नसक्ने कसरी ठूलो पार्टी हुन्छ ?”



काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद भरतबहादुर खड्काले आफैंले अक्षम भनेको सरकारमा पार्टी किन सामेल भएको भन्ने प्रश्न गरेका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सांसद खड्काले भने, “नेपाली कांग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावल मेरा मित्र हुनुहुन्छ । उहाँ प्रदेश सरकारमा सामेल हुनुभएकामा मेरो गुनासो छैन । तर आफैंले अक्षम भनेको सरकारमा जानुपर्ने आवश्यकता र औचित्यबारे संसदीय दललाई मौखिक जानकारी समेत दिनुभएन । दलले संस्थागत निर्णय नगरीकन गएपछि हामीले त्यसको स्वामित्व लिने कि नलिने ?”
तपाईंले आफू मन्त्री हुन नपाएको आक्रोश पोखिरहनुभएको त होइन भन्ने पत्रकार धमलाको प्रश्नमा सांसद खड्काले भने, “कुरा म सरकारमा जानुपथ्र्यो वा पठाउनुपर्थ्र्यो भन्ने होइन । म मन्त्री हुन पाएँ कि पाइनँ भन्ने कुरा गौण हो । जति जना गएका छन्, ती योग्य छन् । १२ जना सांसदलाई मन्त्री बनाउन सकिने पनि होइन । तर संसदीय दलको नेता आफैं जाने हो कि अरुलाई पठाउनुपर्ने हो ? मन्त्रीको छनोट योग्यता, क्षमता, संसद्भित्र र बाहिरको भूमिकाका आधारमा गर्नुपर्ने होइन ?”
कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पार्टीको विधिविधान र प्रणालीलाई पछ्याउँदै आन्तरिक मतभेद मिलाएर जानुपर्नेमा आफूखुसी गरेको आरोप उनले लगाए । उनले भने, “यो मुर्दाहरुको पार्टी होइन । जिउँदाहरु र स्वाभिमानीहरुले आवाज उठाउँछन् । हाम्रो भनाइ आन्तरिक लोकतन्त्र हुनुपर्यो भन्ने हो । विधानभन्दा माथि कोही पनि छैन । पार्टीको विधानलाई नमान्ने हो भने हामी कसरी लोकतान्त्रिक भयौं ?”
सुदूरपश्चिमका आम कार्यकर्ताले गठबन्धनमा भन्दा पनि आफ्नै बुतामा लड्नुपर्ने आवाज उठाएको उनले बताए । खड्काले भने, ग”ठबन्धन भनेको त प्रदेश र केन्द्रमा गर्नुपर्ने हो । वडामा केको गठबन्धन ? त्यहाँ त आफ्नै बुतामा लड्नुपर्छ । पार्टीका साथीहरुले गठबन्धन मान्य हुने छैन भनेका छन् । उनीहरुमा उत्साह र जाँगर छैन । निराश छन् । आक्रोश छ । माथिबाट जबर्जस्ती गठबन्धन लादियो भने दुर्घटनातिर जान्छ । पार्टीलाई ठूलो नोक्सान हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot