Logo

भारतसँग व्यापार पुनः सुरु गर्न पाकिस्तानका नम्बर एक उद्दोगपति मन्साको जोड



एजेन्सी, ३ वैशाख । पाकिस्तानमा इमरान खान प्रधानमन्त्रीबाट हटेर सेहवाज सरिफ प्रधानमन्त्री भएलगत्तै भारतसँगको सम्बन्धमा नयाँ सम्भावनाहरु देखिन थालेको छ । त्यहाँका उद्दोगी व्यवसायीले पनि व्यापार पुनः सुरु हुने आशा व्यक्त गर्न थालेका छन् ।

पाकिस्तानका एकजना वरिष्ठ उद्दोगी मियान मोहम्मद मन्साले भारतसँगको व्यापारलाई पुनः सुचारु गर्नुपर्ने समय आएको बताएका छन् । पाकिस्तानको नम्बर एक व्यवसायिक समूह निसाट कन्ग्लोमेराटका प्रमुख मन्साले दुबईमा इन्डियन एक्सप्रेससँग बोल्दै व्यापार सुरु भएमा दुवै देशबीच नयाँ सम्भावनाका ढोका खोलिने बताएका हुन् ।

आफू निकै आशावादी भएको र भारतसँगका कतिपय विषयहरु समाधान हुने समेत बताए । समाधान हुन नसकेका विषयलाई थाती राखेर व्यापार र पर्यटन सुचारु गर्नुपर्ने बताए ।

७५ वर्षीय मन्साले काश्मिरको विषय समाधानका लागि सुरुमा सानो पाइला चाल्नुपर्ने बताए । बलिउडमा पाकिस्तानी कलाकारको प्रवेश देखि आइपिएलमा पाकिस्तानी खेलाडीको सहभागितामा समेत जोड दिए । मन्साले पछिल्लो समय भारतसँग व्यापार पुनः सुरु गर्ने विषयमा जोड दिदै आएका छन् ।

भारतमा कतिपय सामान सस्तो हुने तर आफूहरुले महङ्गो मूल्यमा अन्य देशबाट किन्नुपरिरहेको समेत उल्लेख गरे । भारतको कपास र चिनीलाई पाकिस्तानमा प्रतिबन्ध लगाउन खोज्दा रोकिएको थियो । इमरान खानले त्यसलाई रोकेका थिए । अब सेहवाज सरिफ सत्तामा आएका छन् । उनको कार्यकालमा व्यापार सुचारु गर्ने अपेक्षा पाकिस्तानका उद्दोगी व्यवसायीले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्