Logo

सरकारी अस्पतालका शौचालयः बस्न हैन,पस्नै गाह्रो



काठमाडौं, वैशाख ४ । वीर अस्पतालको आकस्मिक कक्षपछाडिको शौचालयमा शौचालयको ढोका अगाडिबाटै ह्वास्सै गन्ध आउँछ, पस्नै कठिन छ । जसोतसो भित्र पसे शौच गर्ने समयसम्म टिक्न मुस्किल पर्छ । पिसाब फेर्ने प्यानमै खैनी, परागजस्ता पदार्थ खाएर थुकेको हुन्छ । शौचालयको एउटा ढोका कुहिएको छ, अर्को खुलै रहन्छ ।

दिसा गर्ने प्यानको माथितिर फोहोरै फोहोर हुन्छ । शौचालयभित्रै पानीका बोतल, कपडाजस्ता वस्तु धेरै समयदेखि छन् । शौचालय सफा गर्ने कर्मचारीले त्यता ध्यान दिएको हुँदैन ।

वीर अस्पतालकै एक तलामाथि रहेको अर्को शौचालय पनि त्यस्तै छ । जताततै फोहोरै फोहोर । प्रायः सबै पिसाब नल भरिएका छन् । त्यसको सिधा आकस्मिक ल्याब अगाडि भने कर्मचारीका लागि मात्र छुट्टै शौचालय व्यवस्था छ । त्यहाँ सर्वसाधारणलाई शौच गर्न ताल्चा लगाइएको हुन्छ । अस्पतालको कुनै कर्मचारीलाई शौच लागेमा चाबी लिएर आउँछन् र शौच गरेर जान्छन् । सर्वसाधारणले प्रयोग गर्ने शौचालयभन्दा अस्पतालकै कर्मचारी तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने शौचालय भने राम्रो छ ।

वीर अस्पतालमा सरसफाइकर्मी सयजना छन् । अस्पतालले राखेका स्थायी ३५ जना र अरू ठेक्कामार्फत राखिएका हुन् । यति धेरै सरसफाइकर्मी भए पनि शौचालय दुर्गन्धित हुनुमा अस्पतालमा मानिसको चाप अत्यधिक रहेको अस्पतालका पदाधिकारीको भनाइ छ । अस्पतालका शौचालय फोहोर भइरहने विषयमा अस्पताल प्रमुख डा भूपेन्द्रकुमार बस्नेत सामान्य मान्छन् । नउका अनुसार दैनिक दुई हजारसम्म ओपीडी टिकट जान्छ ।

अस्पतालमा भर्ना भएका र पछि फेरि जँचाउन आउने बिरामीले गर्दा दुई हजार पाँच सयभन्दा बढीको आवतजावत हुने अस्पतालमा शौचालय फोहोर हुनु सामान्य हो । डा बस्नेतले भने, “कतिपय मानिस त शौचालय प्रयोग गर्नै नजान्ने पनि आउँछन् ।” समय–समयमा सफाइ कर्मचारीले सफा गर्ने गरेको जानकारी दिँदै उनले मानिसको अत्यधिक चापका कारण शौचालय फोहोर भएको बताएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot