Logo

सुत्‍न छाड्‍यो ‘ठमेल’



काठमाडौं, वैशाख ४। कोरोना महामारीले दुई वर्षदेखि सुनसान जस्तै बनेको मुख्य पर्यटकीय बजार ठमेलमा चहलपहल सुरु भएको छ। दिउँसो मात्र केही चहलपहल हुने ठमेल नयाँ वर्षदेखि २४ घण्टा खुल्न थालेको हो ।

स्प्रीङ सिजन (बसन्त मौसम) सुरुभएसँगै पर्यटक आगमनको दर वृद्धि भएपछि प्रमुख बजार ठमेल लगायतमा चहलपहल बढ्दै गएको व्यवसायीले बताएका छन्। चकमन्न रहेको ठमेल दिउँसो मात्र नभएर रात्री बजारसमेत भरिभराउ हुन थालेको हो।

हिमाल आरोहणको मुख्य सिजन मानिने बसन्त मौसममा ६८ देशबाट आरोही नेपाल आएको पर्यटन विभागको तथ्याङ्क छ। पर्वतारोहीसँगै पदयात्राका लागि समेत विभिन्न देशबाट पर्यटक भित्रिएको पर्यटन व्यवसायी टीकाराम गुरुङले जानकारी दिए। ठमेल बजारको अवस्था हेर्दा पर्यटन क्षेत्र पुरानै गतिमा फर्किएको भन्न सकिने अवस्था आएको उनको भनाइ छ।

अध्यागमन विभागको तथ्याङ्क अनुसार अप्रिल ९ तारिखमा एकै दिन दुई हजार ५९३ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यो तथ्याङ्क कोरोना महामारीपछिको सबैभन्दा धेरै हो। मार्च महिनामा मात्र ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले सार्वजनिक गरेको तथ्याङ्क छ। नेपालमा पर्यटक आगमनको यो तथ्याङ्क गत वर्षको तुलनामा १८०.४७ प्रतिशतले बढी हो।

गतवर्षको मार्च महिनामा १४ हजार ९७७ जना मात्र पर्यटन नेपाल भित्रिएका थिए। पर्यटकको सङ्ख्यामा वृद्धिभएसँगै मुख्य पर्यटकीय क्षेत्र काठमाडौंको ठमेल, दरबारमार्ग, कपिलवस्तुको लुम्बिनी, चितवनको सौराहा, कास्कीको पोखरालगायतका स्थानका होटल भरिभराउ भएको व्यवसायीले बताएका छन्। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot