Logo

भरतपुरमा ज्यादा जनमत कांग्रेसको छ, हिजो पनि माओवादी कांग्रेसको समर्थनबिना एक्लै लडेको होइनः डा. प्रकाशशरण महत



काठमाडौं, ४ वैशाख । नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ६ महानगर र ११ उपमहानगरपालिकामा गठबन्धन दलहरुबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न सकिने औंल्याएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. महतले भने, “दलहरुबीचको जनाधारलाई मुख्य मापदण्ड मानेका छौं । सबैभन्दा बढी जनमत भएको पार्टीले प्रमुख पद लिने र बाँकी सिट बाँडफाँड हुने हो । यसमा नेतृत्व तहबाट कन्फ्युजन हुनुहुन्न । शंका उपशंका बढाउनु हुन्न । पार्टीको केन्द्रीय समितिमा सर्वसम्मतिमै निर्णय भएको हो । स्थानीय परिस्थिति र आवश्यकता अनुसार जरुरी भएको ठाउँमा तालमेल हुने हो । तालमेल नभएको ठाउँमा गठबन्धन दलहरुमध्ये जो जिते पनि हुन्छ भन्ने ठाउँमा फ्रेन्डली स्वस्थ प्रतिस्पर्धा हुन सक्छ ।”
प्रवक्ता डा. महतले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले भरतपुर माओवादीलाई छाडिसकेको कुरा अफवाह भएको पनि बताए । उनले थपे, “त्यस्तो निर्णय केही पनि भएको छैन । सभापतिले यसो भन्यो, उसो भन्यो भनेर अफवाह भएको मात्र हो । यस्तो केही भन्नुभएको छैन । भरतपुरमा सबैमा हाम्रो ज्यादा जनमत हाम्रो छ । त्यस आधारमा हाम्रो दाबी हो । माओवादीका साथीहरुले भरतपुर महानगरपालिकालाई बढी नै दाबी गर्नुभएको छ । तर भरतपुरमा माओवादीले हाम्रो समर्थनमा जितेको हो । अलग अलग लडेको भए अर्कै कुरा हुन्थ्यो । त्यसलाई नेतृत्व पंक्तिले छलफल गरेर निष्कर्ष निकाल्छ । ७७ संयन्त्र बनाएको छ । कुनै कुनै ठाउँमा हामी उदार हुने स्थिति पनि आउँछ ।”

 



प्रतिक्रिया दिनुहोस्