काठमाडौं, ४ बैशाख । नेकपा (माओवादी केन्द्र) ले भरतपुर महागनरको नेतृत्वमा दाबी गरेको छ ।
सत्ता गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा माओवादीले भरतपुरको नेतृत्वमा दाबी गरेको हो ।
आजको बैठकमा ११ उपमहानगरपालिकामध्ये बाराको जितपुर सिमरा, घोराही, धरान र हेटौंडाको नेतृत्व माओवादी केन्द्रले पाउनुपर्ने दाब माओवादीले गरेको हो ।
आजको बैठकमा कांग्रेसलाई तीन वटा महानगरको नेतृत्व दिनेबारे छलफल भएको जनाईएको छ।
गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुबीचको छलफलमा पनि कांग्रेसलाई ६ मध्ये तीन वटा महानगरको नेतृत्व कांग्रेसले लिने र बाँकी तीन वटामा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपाले लिने सहमति भएको छ ।
उनीहरुबीच भएको सहमतिअनुसार काठमाडौं, ललितपुर र विराटनगरको नेतृत्व कांग्रेसलाई दिने र भरतपुर माओवादी, पोखरा नेकपा (एकीकृत समाजवादी) र वीरगञ्ज जसपालाई दिने सहमति भएको छ।
भोलिसम्म गठबन्धनले महानगर र उपमहानगरपालिकामा सिट बाँडफाँटको टुँगो लगाउने भनिएको छ ।