काठमाडौं, ४ बैशाख । सत्ता गठबन्धनमा जसपाले १ महानगरसहित तीन उपमहानगरपालिकामा दाबी गरेको छ । स्थानीय तहको निर्वाचनमा ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको सिटमा भागबण्डा गर्न बसेको गठबन्धनको तयारी समितिको बैठकमा जसपाले १ महानगरसहित तीन उपमहानगरपालिकामा दाबी पेश गरेको हो ।
जसपाले वीरगञ्ज महानगरपालिकामा दाबी पेश गरेको छ । यसअघि पनि वीरगन्जको मेयर जसपाले जितेको थियो । अहिले मेयर विजय सरावगी एमाले प्रवेश गरिसकेका छन् । उनी एमालेबाट नै मेयरमा उठ्ने चर्चा छ । जसपाले नेपालगञ्ज, जनकपुर र धरान उपमहानगरपालिकामा आफ्नो दाबी पेश गरेको छ ।
तर, सत्ता गठबन्धनमा भने अहिले महानगर र उपमहानगरको सिटमा भागबण्डा भैसकेको छैन् । यसअघि माओवादी केन्द्रले भरतपुर महानगरसहित चार उपमहानगरपालिकामा आफ्नो दाबी पेश गरेको थियो । उता, माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले भने पोखरा महानगरसहित तीन उपमहानगरपालिकामा दाबी गरेको बताईएको छ ।
कांग्रेसलाई काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिका दिने गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुको भनाई छ । कांग्रेसमा भने सबै महानगरपालिका र उपमहानगरपालिकामा नेतृत्वमा प्रतिष्पर्धा गर्नुपर्ने नेताहरुले मत राखेका छन् । सभापति शेरबहादुर देउवा भने गठबन्धनलाई साथमै लिएर जाने पक्षमा छन् ।