Logo

तराईमा एमालेलाई भ्याईनभ्याई छ, सबै आकांक्षीको नाम पठाएर पोखरा कमिटीले सक्षमता देखाएनः खगराज अधिकारी



काठमाडौं, ५ वैशाख । नेकपा एमाले स्थायी समिति सदस्य खगराज अधिकारी पोखरामा इन्चार्ज र सहइन्चार्ज नै आकांक्षी देखिएपछि सहमति नगरीकन आकांक्षी सबैको नाम पठाउनु कमजोरी भएको औंल्याएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता अधिकारीले भने, “देशभरि एमालेका उम्मेदवारको नाम सर्वसम्मत भएर नाम आइरहेको छ । काठमाडौं महानगरपालिकाले पनि ५, ६ जनाको नाम पठायो । तर पोखरा महानगर कमिटीले सबै आकांक्षीको नाम पठाएर विवादमा पर्न चाहेन । सक्षमतापूर्वक तीन जना पठाउन सक्नुभएन । आफ्नो काम पूरा गर्नु भएन । इन्चार्ज र सहइन्चार्ज नै आकांक्षी देखिनुभयो । कमजोरी रह्यो त्यहाँ । सहमतिका साथ पठाउनुपर्थ्र्यो ।”
आगामी स्थानीय तहको निर्वाचनमा एमाले आफ्नै बलबुतामा अघि बढ्ने उनले बताए । अधिकारीले थपे, “देशभरि एमालेको जनलहरले गठबन्धन तरंगित छ । हाम्रो जित सुनिश्चिततातिर बढेको छ । धरहरा, रानीपोखरी निर्माण, उत्तरदक्षिण नाका खुला, विकास र रेलमार्गको सपना देखाउने एमाले नै हो । एमाले जहाँ उभियो, त्यहाँ काम गरेको छ । अघिल्लो निर्वाचनमा तराईमा हामीलाई निषेध गरिएको थियो, अहिले तराईमा भ्याईनभ्याई छ ।”
उनले निर्वाचनका आयोगको निष्पक्षतामा शंका गर्नुपर्ने ठाउँ रहेको आरोप लगाए । अधिकारीले भने, “दुई दिन मनानेयन दर्ता, मतपत्रको रंग परिवर्तन, निर्वाचन प्रमुखको अदलीबदलीले निर्वाचन आयोगमाथि प्रश्न उठेका छन् । यसमा सावधान भएर अघि बढ्छौं ।”



प्रतिक्रिया दिनुहोस्