Logo

तथ्याङ्कमा २०७८ को विपत्तिमा कुन–कुन घटनाबाट कति भयो क्षति ?



काठमाडौं, ५ बैशाख । वर्ष २०७८ प्राकृतिक विपद्का हिसाबले अत्यन्त खराब स्थितिमा गुज्रियो । बाढी पहिराबाट मुलुकले नसोचेको मानवीय क्षति बेहोर्न पुग्यो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्ष २०७८ मा देशभरमा विभिन्न प्रकृतिका तीन हजार ९०४ वटा विपत्ति आइलागे । ती विपद्मा परेर कूल ५०५ जनाले अकालमा ज्यान गुमाएका छन् । अझै ७६ जना हराइरहेका छन् भने एक हजार ७७७ जना घाइते भएका छन् ।

प्राप्त विवरणमा कूल छ हजार १३८ परिवार प्रभावित भएका जनाइएको छ । विपद्जन्य घटनाबाट दुई अर्ब ६१ करोड बढीको क्षति भएको छ । सबैभन्दा बढी घटना आगलागीका दुई हजार ३७१ वटा भए भने सबैभन्दा बढी मानवीय क्षति पहिराबाट भएको छ । पहिरामा परेर १८२ जनाले ज्यान गुमाएका छन् । बाढीबाट ३४ र पहिराबाट ३३ जना बेपत्ता छन् ।

कुनकुन घटनाबाट कति क्षति ?

विसं २०७८ मा पहिरो र बाढीले ठूलो मानवीय तथा भौतिक क्षति गराएको छ भने ठूलो सङ्ख्यामा मानिस पनि हराइरहेका छन् । मानवीय क्षतिका हिसाबले वर्ष २०७८ कालो दिन नै बन्न पुग्यो । सिन्धुपाल्चोकलगायत जिल्लामा अकल्पनीय घटनाहरु भए ।

पहिरो

विसं २०७८ मा कूल ३४४ पहिरो गएको र त्यसबाट १८२ व्यक्तिको मृत्यु भएको छ । कूल ३३ बेपत्ता र १४० जना घाइते भएका छन् भने ६१५ परिवार प्रभावित भएका जनाइएको छ । पहिराबाट मात्रै रु तीन करोड ५० लाखको क्षति भएको छ ।

बाढी

बाढीका १५५ घटना भएकामा ती विपद्मा परेर ६३ जनाको मृत्यु भएको छ । बाढीबाट अन्य ३४ बेपत्ता छन् भने १४ जना घाइते भएका र २८० परिवार प्रभावित भएका छन् । बाढीका कारण रु ११ करोड बढीको भौतिक क्षति भएको छ ।

भारी वर्षा

भारी वर्षापछि डुबानलगायत विभिन्न समस्याका कारण २२ जनाको मृत्यु र एक जना बेपत्ता भए । भारी वर्षाका कारण ४८ जना घाइते भएका तथा ४६३ घर प्रभावित भएका छन् भने कूल रु १२ करोडको क्षति भएको छ ।

चट्याङ

विभिन्न क्षेत्रमा २०२ पटक चट्याङ गएकामा ५६ जनाको मृत्यु भएको छ । २९३ परिवार प्रभावित भएकामा १७७ घाइते भएका छन् । रु दुई करोड बढीको क्षति भएको छ ।

हावाहुरी

हावाहुरीका ५६ घटना भएकामा तीन जनाको मृत्यु तथा एक बेपत्ता छन् । कूल २७३ घर प्रभावित भएकामा १० जना घाइते भए । रु तीन करोड ३५ लाख बराबरको क्षति भएको छ ।

हिउँपहिरो र हुरी

हिउँपहिरो र हिउँ हुरीका १० घटना भएकामा छ जनाको मृत्यु तथा १२ जना भाइते भएका छन् । कूल २० परिवार प्रभावित भएका जनाइएको छ ।

२०७७ सालको क्षति

२०७७ मा कूल चार हजार २०५ प्राकृतिक विपत्तिमा ५९१ जनाको मृत्यु भएको छ भने १०१ जना बेपत्ता भए । यो दशककै सबैभन्दा बढी मानवीय क्षति भएको वर्ष हो ।

पहिराले मात्रै ३०१ व्यक्तिको ज्यान लियो भने ६४ बेपत्ता भए । त्यसपछि आगलागीबाट ९७ र चट्याङबाट ७० जनाले ज्यान गुमाएका छन् । बाढीबाट ४२ को मृत्यु र ३७ बेपत्ता भए ।

२०७६ को क्षति

यो वर्ष चार हजार ३४ विपद्का घटनामा ३८१ को मृत्यु भएको छ । कूल ४८ जना बेपत्ता भए । यस वर्ष सबैभन्दा बढी चट्याङका कारण ८८ जनाले ज्यान गुमाए । पहिराले ८३ र बाढीले ७३ को ज्यान लियो । रासस



प्रतिक्रिया दिनुहोस्