Logo

समाजसेवी कुमार गुरुङको सपना- समृद्ध सूर्यगढी गाउँपालिका



राजधानीको मुटु दरबारमार्गमा व्यवसाय छ । आफ्नो व्यवसायमा सफल र स्थापित छन् । लायन्स क्लब, रोटरी क्लबजस्ता सामाजिक संस्थामार्फत उदीयमान समाजसेवीको छवि पनि छ । उनको व्यक्तित्वको चमकले धेरैलाई आकर्षित गरेको पनि छ ।

तर, यतिमै उनी सन्तुष्ट रहिरहन सकेनन् । एक दिन उनले अठोट गरे, “मैले एक खालको जिन्दगी बिताएको छु । संसार घुमफिर गरेको छु । देश, दुनियाँ देखेको छु । तर मेरो जन्मभूमि अझै पनि दुःख, कष्ट र पीडामा छटपटाइरहेको छ । अब मैले गाउँलाई केही गर्नैपर्छ । मैले नगरे कसले गर्छ ?”

हुन त राजधानी काठमाडौंबाट जम्मा ४५ किलोमिटरको भौगोलिक दूरीमा रहेको जिल्ला हो, नुवाकोट । एक हिसाबले त्यसलाई ‘मिनी काठमाडौं’ भन्दा पनि हुन्छ । तर नुवाकोटकै दुर्गम मानिने सूर्यगढी गाउँपालिका आज पनि बत्तीमुनिको अँध्यारोजस्तो हालतमा छ । कच्ची सडक त पुगेको छ तर ५-६ महिनाभन्दा बढी गाडी चल्दैन । गाउँमा एउटा एम्बुलेन्स पनि छैन । बिरामीलाई मान्छेले बोकेर अस्पताल पुर्‍याउनुपर्ने अवस्था छ । सरकारी विद्यालय छन्, तर विद्यार्थी छैनन् । यसले उनलाई भतभती पोलिरह्यो ।

हुन त सूर्यगढी गाउँपालिका नेपाली कांग्रेसका नेता डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महतहरुको थातथलो हो । तर, गाउँले जनआकांक्षा अनुसार काँचुली फेर्न सकेको छैन । त्यसैले गाउँ–गाउँमा सिंहदरबार भन्ने नाराको सार्थकता निम्ति यस पटकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट सूर्यगढी गाउँपालिकाको प्रमुखमा सशक्त दाबेदारी प्रस्तुत गरिरहेका छन्, कुमार गुरुङ ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका गुरुङको राजनीतिक साइनो पुरानै हो । २०५२ सालमा नुवाकोटको साबिक लच्याङ गाविसबाट नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको क्षेत्रीय प्रतिनिधि अनि २०५४ मा इकाई सभापति थिए । उनको पारिवारिक पृष्ठभूमि पनि राजनीति नै हो । उनका पिता लक्ष्मण गुरुङ २०५४ मा साबिक लच्याङ गाविसका नेपाली कांग्रेसबाट जननिर्वाचित अध्यक्ष थिए ।

उनी जनताको मत मात्र होइन, मन समेत जित्न चाहन्छन् । उनी भन्छन्, “ए-बाट एकैचोटि जेड हुँदैन, एक-बाट एकैचोटि सय पनि हुँदैन । मैले यथार्थ धरातलमा रहेर योजना बनाउने हो । मैले गाउँलाई चिल्ला रेलका सपना बाँड्ने होइन, सडक पिच गरेर देखाउने हो । स्थानीय सरकारलाई उदाहरणीय रुपमा प्रस्तुत गर्ने हो । संसार जोड्ने बाटोले हो, मानिसको आँखा खोल्ने शिक्षाले हो । म गाउँका सम्भावना हेरेर अघि बढ्न चाहन्छु ।”

नुवाकोटको साबिक लच्याङ गाउँ विकास समिति वडा नं ४ बरादी (हाल सूयगढी—१) मा २०४० वैशाख ६ मा जन्मेका हुन्, कुमार गुरुङ । स्थानीय चण्डेश्वरी प्राविमा कक्षा ५ सम्म पढेर उनी नर्जा विज्ञान मावि पुगे । विसं २०५५ मा एसएलसी गरेपछि आदर्श बहुमुखी क्याम्पस बट्टारमा आईकम पढे । त्यहाँ पढ्दापढ्दै नेपाल रेडक्रसमा सुपरभाइजर भएर काम गरे । राष्ट्रसंघीय प्रौढ शिक्षा कार्यक्रममा पनि संलग्न भए ।

आईकम पढेपछि काठमाडौं पसे उनी । शंकरदेव कलेजमा बीबीएस भर्ना भए । राजनीतिको चस्को उनलाई पहिलेदेखि नै थियो । त्यतिबेला माओवादी द्वन्द्व चरम उत्कर्षमा थियो । एकातिर कांग्रेसमा किन लागिस् भनेर माओवादीको अपहरण झेल्नुपर्थ्र्यो भने अर्कातिर माओवादीसित किन गइस् भनेर सरकारी सेनाको नियन्त्रणमा बस्नुपर्थ्र्यो । उनी राजनीतिलाई यसरी अर्थ्र्याउँछन्, “बच्चा जन्मेपछि दूध खान रुन्छ । नरोईकन बच्चालाई आमाले पनि दूध दिन्नन् । त्यसैले कोक्रोदेखि चिहानसम्म राजनीति छ ।”

एक दिदी र एक दाइका भाइ कुमारले शंकरदेव पढ्दाखेरि केही समय बोटलर्स नेपालमा समेत काम गरे । त्यसपछि सेभ द चिल्ड्रेनमा फिल्ड अफिसर भएर पनि काम गरे । त्यस क्रममा उनले खुब घुमफिर गरे । देशको भूगोल, संस्कृति, सभ्यता र पहिचान थाहा पाए । देशप्रति एक खालको गौरवानुभूति भयो ।

नेपाली कांग्रेसका युवा नेताहरुले हिजोआज ‘चार दिन पार्टीलाई, तीन दिन रोटीलाई’ भन्ने नारा दिएका छन् । तर, कुमारले कलेज पढ्दा नै त्यसको तत्त्वबोध गरिसकेका थिए ।

हुन पनि व्यवसाय गर्नका लागि पुँजी चाहिन्थ्यो, जागिर खान अनुभव चाहिन्थ्यो । चिल्ला गफले मात्र जिन्दगी चल्दैनथ्यो । यस क्रममा उनले दुःखसुख गरेर पाको, न्यूरोडमा मोबाइल फोन, पेनड्राइभ, र्‍याम, हार्डडिस्क आदि पाटपुर्जाको व्यापार गरे । उनी सम्झिन्छन्, “त्यतिबेला पेजरको युग सकिएर भरखर मोबाइल आएको थियो । मोबाइल बोक्ने मुस्किलले ५ प्रतिशत थिए । म व्यावसायिक घरानाको सदस्य थिइनँ । न्यूरोड, दरबारमार्गलाई बेस बनाएर सिक्दै सिक्दै काम गरें ।”

त्यसपछि उनी रियल स्टेट, सेयर मार्केट र लाउन्ज रेस्टुराँतिर पनि लागे । १० वर्षयता उनले दरबारमार्गमा किङ्स लाउन्ज सञ्चालन गर्दै आइरहेका छन् । उनी भन्छन्, “एउटा पेसा मात्र अँगाल्दा गाह्रो हुने रहेछ । कोभिडका बेला एउटा पेसामा रहनेलाई निकै संकट भयो । त्यसैले मैले बिजिनेसमा डाइभरसिटी दिएको हुँ ।”

२०६४-६५ पछि उनले सक्रिय राजनीतिलाई स्थगन गरे र व्यवसायमा फोकस भए । तर नेपाली कांग्रेससँग उनको निकटतामा कुनै कमी आएको थिएन । अन्तरजातीय बिहे गरी एक सन्तानका पिता बनेका कुमार भन्छन्, “म काठमाडौं कता पर्छ होला भन्दै सहर पसेको हुँ । काठमाडौंमा बसेका ८० प्रतिशत सायद मजस्तै गरी आएका हुन् । म राजनीतिलाई नितान्त सेवा मात्र ठान्छु । राजनीति सय मिटरको रिले दौड होइन, म्याराथन हो भन्ने बुझेको छु ।”

विशुद्ध सेवाका लागि उनले एकैचोटि ‘कमब्याक’ गरे, चौधौं महाधिवेशनमा । उनले अत्यधिक मतका साथ नुवाकोट क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधिमा विजयी भए । त्यतिबेला अर्जुननरसिंह केसी प्यानलबाट उठेका ८० जनामध्ये उनीसहित ५ जनाले मात्र विजय प्राप्त गरेका थिए ।

व्यक्तिगत र संस्थागत सहकार्यमा प्रत्येक घर-घरमा पुगेका उनलाई सूर्यगढी गाउँपालिकामा अध्यक्ष जित्न कुनै कठिनाइ होलाजस्तो लाग्दैन । एक त त्यो २०७४ मा नै नेपाली कांग्रेसले एक्लै जितेको गाउँपालिका हो, अर्कातिर निकटम प्रतिद्वन्द्वी नेकपा एमाले विभाजित छ । साथै उनी अन्य दलको मत तान्न पनि सक्षम छन् । उनी भन्छन्, “व्यवस्था कैयौंचाटि बदलियो, अवस्था जस्ताको तस्तै छ । विगत ७० वर्षमा ४०—४५ जना प्रधानमन्त्री फेरिसकियो । अब बोतलमा झोल मात्र होइन, गाउँको मुहार नै फेर्ने हो । मेरो सपना समृद्ध सूर्यगढी हो ।”

परिवर्तनको बाहक भएकाले अब युवा नै अघि बढ्नुपर्ने युवा नेता गुरुङको कथन छ । उनी भन्छन्, “जनताले बाजेदेखि नातिको पालासम्मले एउटै व्यक्तिलाई पटक पटक भोट हालेको हाल्यै छन् । जम्मा एक हजार किलोमिटर क्षेत्रफल भएको नेपालजस्तो सानो देशमा ८० वटा पार्टी छन् । यसले गर्दा पनि राजनीति नसुध्रिएको हो । अब राजनीतिक सुधार्ने हो र मुलुकको कायालपट गर्ने हो भने युवा नेतृत्वको विकल्प छैन ।”

 



प्रतिक्रिया दिनुहोस्