काठमाडौं, बैशाख ६ । मेलम्ची खानेपानी आयोजनाको पानी सोमबार सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइपुगेको छ । मेलम्चीको मुहानबाट सुरुङमा प्रतिसेकेन्ड औसत २७५ लिटर छाडेको पानी ६ दिनपछि सुन्दरीजल आइपुगेको हो । अब उक्त पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा केही दिन सञ्चय गरिने छ र प्रशोधनपछि धारामा पठाइने छ ।
प्रशोधन केन्द्रको प्राविधिक परीक्षण तथा पानीको गुणस्तर जाँच गरी आगामी आइतबारदेखि घरायसी धारामा पानी वितरण गर्ने तालिका समेत तय भएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकाका घरघरका धारामा आउने भएकाले वितरणको तयारीमा जुट्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७औँ वार्षिकोत्सवका अवसरमा सोमबार आयोजित विशेष कार्यक्रममा मन्त्री चौधरीले मेलम्चीको पानी उपभोग गर्ने काठमाडौं उपत्यकावासीको चाहना आगामी आइतबारदेखि पूरा हुने बताएका छन्।
मन्त्री चौधरीले मेलम्चीको पानी समानुपातिक ढङ्गले उपत्यकाका सबै क्षेत्रमा वितरण गर्न पाइपलाइनको परीक्षण र चुहावट नियन्त्रणका लागि विशेष पहल गर्नु काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) र आयोजना कार्यान्वयन निर्देशनालयलाई निर्देशन दिए । उनले मेलम्चीको वैकल्पिक स्रोतका रूपमा सिस्नेरी र ठोस्नेबाट पानी वितरण गर्नसकिने विषयमा अध्ययन भइरहेको बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।