काठमाडौं, ६ वैशाख । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले गठबन्धनका लागि नेपाली कांग्रेस हदैसम्म लचिलो र उदार हुनुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले भने, “गठबन्धनको मुख्य घटक नेपाली कांग्रेस नै हो । उसले अड्डी लिएर कहाँ गठबन्धन हुन्छ ? लचिलो त कांग्रेस नै हुनुपर्छ । कांग्रेस उदार हुनुपर्छ अनि पो गठबन्धन हुन्छ । समाजवादीले एउटा महानगर माग्नु स्वाभाविक हो । एमालेलाई हराउन उसको भूमिका प्रमुख हुन्छ । उसलाई स्पेस दिनैपर्छ । ओलीसँग टक्कर त उसले नै लिइरहेको छ ।”
भरतपुर महानगरपालिका माओवादी केन्द्रले पाउनु स्वाभाविक भएको पनि उनले औंल्याए । गजुरेलले भने, “नेपाली कांग्रेसभित्र जबर्जस्त घोषित गुट छ । उनीहरु आआफ्नो गुटको ठाउँ छाड्न चाहँदैनन् । तर भरतपुर हिजो पनि हामीले जितेकै हो । गठबन्धनमा समस्या आइरहन्छन् । यो प्रतिगमनविरोधी गठबन्धन हो । चुनाव जित्ने र हार्ने कुरा मात्र होइन । परिवर्तनलाई रक्षा गर्ने सन्दर्भमा हामी मिलेका हौं । मिल्दाखेरि कस्तो हुन्छ भन्ने कुरा हिजो राष्ट्रिय सभाको नतिजा उदाहरण छँदै छ नि ।”