Logo

कमल थापा र होलिवाइनसँग एमालेको खिचडी निर्लज्ज अभ्यास होः डा. भीम रावल



काठमाडौं, ६ वैशाख । नेकपा एमालेका नेता डा. भीम रावलले राप्रपा नेपाल र नेपाल परिवार दलसँगको सम्झौता निर्लज्ज अभ्यास भएको आरोप लगाएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. रावलले भने, “समान नीति, राजनीतिक विचारधारा र कार्यक्रमका आधारमा गठबन्धन हुने हो । तर विपरीत विचारवालासँग खिचडी पकाउनु निर्लज्ज अभ्यास हो । यो त आफ्नो चुनाव चिह्न भाडामा बिक्री गरेको जस्तो हो । त्यसैले मैले सैद्धान्तिक विमति राखेको हुँ ।”
संविधानको धारा २६९ को १ र २ को विपरीत गठबन्धन गर्ने अधिकार कसैसँग नभएको पनि उनले औंल्याए । उनले थपे, “स्थानीय तह भागबन्डा गर्ने निजी सम्पत्ति होइन । हिजो नेकपा एमाले र माओवादी केन्द्रबीच गठबन्धन गर्दा समान विचारधारा थियो । आज हिन्दु राज्य ल्याउन चाहने कमल थापाको पार्टी र होलीवाइनवाला परिवार दलको विचार एमालेसँग कसरी मिल्छ ? कि विगतका गलत काम छाड्यौं, पार्टी प्रवेश गर्यौं भन्नुपर्यो । सूर्य चुनाव चिह्नमा जितेर फेरि आफ्नै पार्टीमा फर्कन मिल्दैन । यो संविधानको धारा २६९ को १ र २ को विपरीत हो ।”
दलहरुको गलत क्रियाकलापले लोकतान्त्रिक व्यवस्था धरापमा पर्ने पनि उनले बताए । डा. रावलले भने, “कुरा एमालेको मात्र होइन, संघीयता नमान्ने चित्रबहादुर केसीको पार्टी र प्रजातान्त्रिक समाजवाद भन्ने नेपाली कांग्रेसबीच फगत पदमा पुग्ने गठबन्धन घोर अवसरवाद हो । यसले देशलाई संकटतर्फ लाग्छ । विचार, नीति र सिद्धान्तविहीन गठजोडले दलीय व्यवस्था धरापमा पर्छ । बहुदलीय प्रणालीमा फजिती हुन्छ ।”
तपाईं अब एमाले छाडेर नयाँ दल खोल्नुहुन्छ कि भन्ने पत्रकार धमलाको प्रश्नमा डा. रावलले भने, “मेरो कुरा छाडिदिनुस्, मैले जहिले पनि सिद्धान्त, नीतिको वकालत गरेको छु । कमल थापा र होलिवाइनका प्रणेता पार्टीसँगको गठजोड के एमालेको जबज र महाधिवेशनको म्यान्डेट हो । विदेशीको दलाली गरेर र प्रतिक्रियावादीसँग मिलेर जसरी पनि चुनाव जित्ने हो भने त्यो पार्टी हुँदैन, गुट र जत्था हुन जान्छ ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot