Logo

भरतपुर, पोखरा र वीरगञ्ज महानगरपालिका काँग्रेसले छाड्ने, देउवाले दिए यस्तो निर्देशन



काठमाडौं, ६ वैशाख । भरतपुर र पोखरा महानगरपालिका नेपाली काँग्रेसले गठबन्धनका अन्य दललाई छाड्ने भएको छ । आज प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले भरतपुर र पोखराका नेताहरुलाई बालुवाटारमा डाकी गठबन्धन जोगाउन र देशभर चुनाव जित्न छाड्नुपर्ने अवस्था आएको बताएका थिए ।

देउवाले सुरुमा भरतपुर महानगरपालिकाको विषयमा चितवन काँग्रेस सभापति राजेश्वर खनाललाई डाकेर छलफल गरेका थिए । खनाललाई भरतपुर माओवादीलाई छाड्नुपर्ने भएकाले जिल्लाको माहोल सम्हाल्न देउवाले भनेका थिए । खनालले भने आफूले सम्हाल्न नसक्ने जवाफ दिएर निस्किएका थिए ।

खनालपछि बालुवाटारमा पोखराका नेताहरु छिरेका थिए । देउवाले उनीहरुलाई पोखरा नेकपा एकीकृत समाजवादी पार्टीलाई छाड्नुपर्ने भनेका थिए । भेटमा सहभागी पूर्वमन्त्री यज्ञबहादुर थापाले काँग्रेसको ६५ हजार मत अन्य दललाई खन्याउन व्यवहारिक नभएको जवाफ दिएका थिए । तर, देउवाले गठबन्धनको वाध्यात्मक अवस्थाबारे बुझ्न भनेको बुझिएको छ ।

गठबन्धनमा काठमाडौं, ललितपुर र विराटनगर काँग्रेसले, भरतपुर माओवादीले, पोखरा नेकपा एसले र वीरगञ्ज जसपाले मेयर पाउने गरी गठबन्धनमा भद्र सहमति भइसकेको बुझिएको छ । सहमतिलाई कार्यान्वयन गर्न देउवालाई सबैभन्दा मुश्किल परेको छ । उनले पार्टीभित्र मिलाउन खोजिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot