Logo

प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैनः प्रचण्ड



काठमाडौं, बैशाख ९ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन् ।

भ्लादिमिर इल्यिच लेनिनको १५२औँ जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७३औँ स्थापना दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले प्रतिगमनको खतरा अझै बाँकि रहेको बताएका छन् ।

‘शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार गर्‍यो । वामपन्थी, देशभक्त एवं लोकतान्त्रिक शक्तिहरूको साझा संघर्षको परिणाम तत्कालका लागि उक्त प्रतिगमन पराजित हुन पुग्यो । तर, प्रतिगमनको खतरा पूर्णतः अन्त्य भएको छैन ।’ जारी संदेशमा उल्लेख छ ।

उनले दक्षिणपन्थी संशोधनवाद, राष्ट्रिय आत्मसमर्पणवाद, प्रतिगामी एवं तानाशाही प्रवृत्तिविरूद्ध संघर्ष गर्दै प्राप्त उपलब्धीको रक्षासहित समाजवादको आधार तयार पार्नु कम्युनिस्टको ऐतिहासिक जिम्मेवारी हुन आएको बताएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा वाम(लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराउन पनि उनले अपील गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्