Logo

राणा दम्पत्ति एमालेमा प्रवेश, ओलीले गरे स्वागत



काठमाडौं, ९ बैशाख । समाजसेवी तथा व्यवसायी मीना राणा र उनका श्रीमान वरदान शमशेर राणा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । उनीहरुलाई आज पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

पार्टी प्रवेश गरेपछि राणा दम्पत्तिले खुशी व्यक्त गरेका छन् । उनीहरुले मुलुकको भाग्य र भविष्य बनाउने दल नै एमाले भएकोले आफूहरु उक्त पार्टीमा प्रवेश गरेको प्रतिक्रिया दिएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा मिना राणाले व्यक्त गरेको विचार यस्तो छ 

आदरणीय अध्यक्ष श्री केपी शर्मा ओलीज्यू एवम् अग्रज नेताज्यूहरु

सबैमा मेरो नमस्कारको अभिवादन छ

सर्वप्रथम म नेकपा ९एमाले० मा प्रवेश गर्न पाउँदा आफूलाई निकै खुशी र भाग्यमानी ठानेको छु । मुलुककै ठूलो दल हुनुको नाताले पनि एमाले जनताको पार्टी हो भन्ने कुरा स्पष्ट नै छ । र, यो पार्टीप्रति जनताको आकर्षण दिनप्रतिदिन बढिरहेको छ । एमालेको नेतृत्व पँक्ति खासगरी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको समृद्ध नेपालको भीजनबाट म निकै प्रभावित थिएँ । उहाँले सरकारको नेतृत्व गर्दा देशव्यापी रुपमा विकास निर्माणका काम अघि बढेको कुरा जगजाहेर नै छ ।

उहाँले समृद्ध नेपाल र सुखी नेपाली अभियान नाराको लागिमात्रै अघि सार्नुभएको नभई बास्तवमै यसलाई व्यवहारमा नै उतार्नुभएको छ । उहाँको व्यक्तित्व र सरल स्वभावबाट आम नेपाली जनता प्रभावित छन् । उहाँले देशलाई कसैसँग झुक्न दिनुभएन । सबै देशसँग सन्तुलित सम्बन्ध राख्नुभएको थियो । मुलुक निर्वाचनमा होमिएको छ। एमालेप्रति जनताको ठूलो लहर देखिएको छ । यसले पनि एमालेको आगामी तीनै तहको निर्वाचनमा बहुमत हाँसिल गर्नबाट कसैले रोक्न नसक्ने स्पष्ट पारिसकेको छ ।

अहिले युवादेखि बृद्धासम्मको नै एमाले भरोसायोग्य पार्टी बनेको छ। म आज अध्यक्ष ओलीज्यूको आर्शिवाद लिएर एमालेमा प्रवेश गर्न पाउँदा निकै भाग्यमानी ठानेको छु । मेरो बाँकी जीवन एमालेमा रहेर ईमानदारपूर्वक देश र जनताको सेवामा व्यतित गर्ने पनि घोषणा गर्दछु । मैले आज आफू यो पार्टीको एक सच्चा कार्यकर्ता हुन पाउँदा गौरवको अनुभुति गरेको छु । पार्टीले दिने जुनसुकै भूमिका मेरो लागि स्विकार्य छ । यो ऐतिहासिक क्षणमा मैले दुई शब्द राख्ने मौका पाएँ, यसको लागि पनि सबैप्रति आभार व्यक्त गर्दछु । धेरै धेरै धन्यवाद ।



प्रतिक्रिया दिनुहोस्