काठमाडौं, वैशाख १० । स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् ।
स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न मनोनयन दर्ता गर्दा राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन ऐनमा छ । आयोगले उक्त व्यवस्थाअनुसार आचार संहिता जारी गरेकामा त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि राजीनामा अनिवार्य भएको हो ।
त्यस्तै निर्वाचन आचारसंहितामा सार्वजनिक पद धारण गरेका व्यक्तिले निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने स्पष्ट व्यवस्था भएकाले जनप्रतिनिधिबाहेकका व्यक्तिले पनि राजीनामा दिएका हुन् ।
सार्वजनिक पद धारण गरेका व्यक्तिको राजीनामा स्वीकृत हुन समय लाग्ने भएकाले आसन्न निर्वाचनमा उम्मेदवार हुन चाहने त्यस्ता व्यक्तिले केही समयअघिदेखि नै राजीनामा दिन थालेका थिए । यसरी राजीनामा दिनेमा निजामतीतर्फका उपसचिवसम्मका कर्मचारी र माध्यमिक प्रथम श्रेणीका शिक्षक पनि छन् । गोरखापत्र दैनिकबाट