Logo

बङ्गुरपालनबाट मासिक एक लाख कमाइ



बेनी वैशाख १० । बेनीका रणबहादुर विश्वकर्माको दैनिकी बङ्गुर फार्मबाट सुरु हुन्छ । उनले बिहानै फार्ममा पुगेर बङ्गुरलाई दानापानी खुवाउने र खोर सफा गर्छन् । उनको यो दिनचर्या चलेको आठ वर्ष भइसकेको छ ।

“विदेश पनि भोगियो, दुःख पनि पाइयो तर आफ्नै गाउँघरमा व्यवसाय गर्दाको खुसी बेग्लै छ । परिवार मिलेर बङ्गुरपालन गरेका छौँ, सबै जना खुसी छौँ,” विश्वकर्माले भने ।

बङ्गुरपालनमा राम्रो सम्भावना देखेर वैदेशिक रोजगार त्यागेर बङ्गुरपालन व्यवसाय सुरु गरेको बेनी नगरपालिका–७, मङ्गलाघाटका युवा विश्वकर्माले बताए। “विदेशमा १२ वर्ष दुःख गरियो,” विश्वकर्माले भने, “विदेशमा गर्ने श्रम स्वदेशमै गर्ने हो भने राम्रो आम्दानी लिन सकिने रहेछ ।” बङ्गुरपालन व्यवसायबाट मासिक एक लाख रुपैयाँसम्म आम्दानी गर्न सकिने उनको अनुभव छ ।

दुई लाख ५० हजार रुपैयाँबाट सुरु गरेको बङ्गुरपालन व्यवसाय अहिले करिब ५० लाख रुपैयाँसम्म लगानी पुगेको छ । खोर निर्माण गर्न भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बङ्गुर जोन कार्यक्रमले अनुदान उपलब्ध गराएपछि परम्परागत खोरलाई आधुनिकीकरण गरिएको उनको भनाई छ ।

उनको फार्ममा माउ बङ्गुर १३, भाले बङ्गुर एक, मासुका लागि तयारी अवस्थामा रहेका १२ र पाठापाठी २० वटा छन् । दानापानी राम्रो खुवाउन सकियो भने आठदेखि महिनादेखि एक वर्षमा एक सय केजीसम्मको बङ्गुर हुने उनले बताए । दानाको व्यवस्थापन गर्नसकेमा पैसा कमाउन बङ्गुरपालन व्यवसाय राम्रो हुने उनको अनुभव छ।

बेनी बजारमा रहेका होटल र घरबाट बढी भएको खाना, तरकारी, दाललगायतलाई सङ्कलन गरेर दानाका रूपमा प्रयोग गरिने उनले बताए। यसका साथै घरमै पनि दाना बनाउने उनले बताए ।

महिनामा १० वटासम्म बङ्गुर बिक्री गर्ने उनको भनाइ छ । बङ्गुरको मासु पसलमा प्रतिकेजी ३५० रुर्पैयाँमा बिक्री हुने उनले बताए । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्