Logo

एमालेको घोषणापत्र ‘जोकरको डाइलग’ जस्तो छः कांग्रेस नेता



काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले हैसियतभन्दा बढी पालिका मागेकाले सिन्धुपाल्चोकमा गठबन्धन सफल हुन नसकेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले भने, “गठबन्धन दलहरुसँग सिन्धुपाल्चोकमा धेरै पटक वार्ता भयो । तर माओवादी र समाजवादीले हैसियतभन्दा बढी अपेक्षा गरेकाले निर्णय पुग्न सकेको छैन । आज मिल्यो भने मिल्यो, मिलेन भने मिलेन । हामी एक्लै मित्रवत् प्रतिस्पर्धामा जान्छौं ।”
उनले माओवादी केन्द्रले १२ पालिकामध्ये ६ पालिका मागेको पनि बताए । बस्नेतले भने, “हामी हाम्रा साथीहरुको आकांक्षाबाहिर जान सक्दैनौं । १२ पालिकामध्ये ११ पालिकामा हामी एक्लै चुनाव लड्न तयार छौं भनेका छन् । केन्द्र र प्रदेशमा गठबन्धन सरकार भएकाले तालमेल गरेर जानका लागि ४ वटा पालिका जितेको कांग्रेसलाई ८ र २ वटा पालिका जितेको माओवादीलाई ४ पालिका दिने भन्यौं । तर उसले आधा हिस्सा माग्यो ।”
माओवादीले गठबन्धन दल कांग्रेसभन्दा पहिले एमालेसँग कुरा गरेको पनि उनले औंल्याए । बस्नेतले भने, “उसले हामीसँग कुरा गर्नुभन्दा पहिले एमालेसँग कुरा गरिसकेको छ । उसको पहिलो प्राथमिकता एमाले रहेछ । एमालेसँग ६ वटा पालिका माग्दा नदिएपछि हामीसँग कुरा गर्न आयो । आफ्नो अवस्था अनुसार माग गरेको भए संयोजन गर्न सजिलो हुन्थ्यो । कसको प्रभाव छ वा छैन भन्ने पछि थाहा भैहाल्छ । हामी एक्लै गएर पनि ठूलो पार्टी बन्छौं । यसलाई आश्चर्यका रुपमा लिनुपर्छ जस्तो लाग्दैन ।”
नेकपा एमालेको चुनावी घोषणापत्र कस्तो लाग्यो भन्ने पत्रकार धमलाको प्रश्नमा नेता बस्नेतले भने, “गत वर्षकै बासी घोषणा पत्र हो । अझै पनि रेल, पानीजहाज र घरघरमा ग्यासको पाइप लाइन भनिरहेका छन् । एमालेको घोषणापत्र जोकरको डाइलग जस्तो हो । नेपाली कांग्रेस जे कुरा हुन सक्छ, त्यो भन्छ । जे हुन सक्दैन, त्यो भन्दैन ।”

 



प्रतिक्रिया दिनुहोस्