Logo

काठमाडौंको फोहोर पुनः रोक्ने चेतावनी



काठमाडौं, वैशाख १० । सङ्घीय राजधानीसँग जोडिएको पासाङल्हामुु राजमार्गको मुड्खुभन्ज्याङदेखि ककनीसम्मको सडक विस्तार तथा स्तरोन्नति सुरु भएको आठ वर्ष भयो तर काम भने अलपत्र छ ।

सम्बन्धित निकाय र निर्माण कम्पनीको चरम लापरबाहीका कारण कुल १७.०१ किलोमिटरको सो सडकखण्ड नबन्दा स्थानीयवासीले आठ वर्षदेखि बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्दै आएका छन् । त्यति मात्र नभई राजधानीबाट फोहोर बोकेका गाडी त्यसतर्फ जान नपाउँदा सङ्घीय राजधानी काठमाडौँमा पटक–पटक फोहोर थुपिदै आएको छ ।

सो सडकखण्डको निर्माण गरिदिन प्रधानमन्त्रीको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागमा पटक–पटक धाउँदासमेत कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । सडक विभागअन्तर्गतको सडक सुधार तथा विकास आयोजनासँग शारदाप्रसाद अधिकारी अध्यक्ष रहेको नेपालको सैलुङ निर्माण कम्पनी तथा भारतको अरावली इन्फा पावर प्रालि (जेभी) सँग २०७१ जेठ ५ गते ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता रकम ३१ करोड चार लाख ६४ हजार रुपियाँ रहेकामा अहिले सो रकम ३४ करोड ९४ लाख रुपियाँ पुगेको छ ।

सडक विस्तार तथा स्तरोन्नतिका लागि आठ वर्षमा सात पटक म्याद थपिए पनि अहिलेसम्म आधा पनि काम पूरा भएको छैन । सातौँ पटकको म्याद गत वर्ष चैतमै सकिए पनि काम भने ४० प्रतिशत मात्रै भएको छ । स्थानीयवासीले सो सडक निर्माणको माग गर्दै संयुक्त सङ्घर्ष समिति गठन गरी मुड्खुभन्ज्याङदेखि तीनपिप्ले खण्डमा फागुन १ देखि सडक अवरुद्ध गर्दै आएका छन् । यही सडक हुँदै काठमाडौँ उपत्यकाको फोहोर सिसडोल लाने गरिन्छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot