काठमाडौं, १० वैशाख । नेपाली काँग्रेसले महालक्ष्मी नगरपालिकामा मेयर र उपमेयरसहित १० वटै वडामा आफ्नै उम्मेदवार अगाडि सार्न सक्ने बुझिएको छ । ललितपुर महानगरपालिकामा गठबन्धनमा सहमति भएपनि महालक्ष्मीमा सहमति बन्न नसकेको हो ।
महालक्ष्मीमा नेकपा एकीकृत समाजवादी पार्टीले उम्मेदवार लगभग तय गरिसकेको छ । उम्मेदवारहरुबारे नै काँग्रेसले प्रश्न उठाएको बुझिएको छ ।
ललितपुरका पालिकाहरुमध्ये महालक्ष्मीमा नेकपा एसको बलियो पकड छ । तर, काँग्रेस निकै मजबुत अवस्थामा छ । काँग्रेसले महालक्ष्मीमा मेयरको दाबी गर्दै आएको छ ।
ललितपुर क्षेत्र नम्बर २ मा पर्ने यहाँ नेकपा एसका कृष्णलाल महर्जन बहालवाला सांसद हुन् । एसकै माधव पौडेल प्रदेश सभा सांसद छन् ।
भविष्यमा प्रतिनिधि सभा र प्रदेश सभामा नेकपा एसले दाबी गर्न सक्ने भएकाले पनि काँग्रेसले महालक्ष्मीमा मेयरको दाबी गरेको हो ।
काँग्रेसका एक जिल्ला नेताले भविष्यमा सांसद र प्रदेश सभा सांसद समेत दाबी गर्ने तयारीमा रहेको एसले महालक्ष्मीमा मेयरको दाबी गर्न नमिल्ने तर्क गरे । मेयर नछाडे गठबन्धन हुन नसक्ने र एक्ला एक्लै चुनाव लड्न तयार हुनुपर्ने बताए ।