काठमाडौं, ११ वैशाख । नागरिक समाजका अगुवा कृष्ण पहाडीले नेताहरूको ज्यादतीको जवाफ जनताले मतबाट दिनुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नागरिक अगुवा पहाडीले भने, “लोकतन्त्रमा दलहरु खुल्छन्, टुट्छन् । गठबन्धन बन्छ र टुट्छ् । तर अन्तिम सत्य जनता हुन् । जति धेरै विकल्प भयो, उति लोकतन्त्रको सार्थक अभ्यास हुन्छ । व्यक्तिगत रुपमा म न गठबन्धनको पक्षमा छु, न विपक्षमा । लोकतन्त्रको प्राण भर्ने काम नेताहरूको हो । तर उनीहरु आफैं प्राण निकाल्ने काम गरिरहेका छन् । स्थानीय तहको निर्वाचनमा नेताहरुले गरेका ज्यादतीको जवाफ मतबाट दिनुपर्छ ।”
चुनावमा कुहिएका फलफूललाई फालेर राम्रो र ताजा छान्नुपर्ने पनि उनले औंल्याए । पहाडीले भने, “स्थानीय तहको निर्वाचनमा स्वतन्त्र होस् वा दलका उम्मेदवारको उद्देश्य जनताको जीवनधारालाई सहज बनाउने हुन्छ । जनताले छान्न सक्नुपर्छ, कुहिएको फलफूल कुन हो राम्रो र ताजा कुन हो ? पुरानोमा पनि रसिलो छान्न सक्नुपर्यो ।”
चुनाव प्रविधिमैत्री हुन नसक्नु नेताहरुको अक्षमता भएको पनि उनले बताए । पहाडीले थपे, “नेताहरु र दलहरु विज्ञान-प्रविधिमैत्री नहुँदा चुनाव महिनौं लामो हुने भयो । धाँधली हुने सम्भावना भयो । झडपमय हुने भयो ।”