काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेसले आज आगामी स्थानीय तहको निर्वाचनको लागि संकल्प सार्वजनिक गरेको छ ।
पार्टीले ८८ पुष्ठ लामो सकल्प पत्र प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री द्धय विश्वप्रकाश शर्मा र गगन थापा लगायतले सार्वजनिक गरेका हुन् ।
लोकतन्त्र दिवस पारेर कांग्रेसले सार्वजनिक गरेको सकल्प महामन्त्री गगनकुमार थापा संयोजक रहेको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार पारेको हो । महामन्त्री थापाले गरेको नेतृत्वको सकल्प समितिमा स्थानीय तहमा अनुभव प्राप्त जनप्रतिनिधिसँगै विकास पुर्वाधार विज्ञ, अर्थ विज्ञ लगायत सहभागी थिए ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि कांग्रेसले सार्वजनिक गरेको संकल्पमा जनताको करबाट उठेको राजस्वलाई भ्युटावर, स्वागतद्धार जस्ता अनुत्पादक क्षेत्रमा लगानी नगर्ने पनि स्पष्ट पारेको छ ।
यसैगरी, पार्टीले नातेदार वा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ, कर्मचारी वा सहयोगी नियुक्त नगर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।