Logo

महालक्ष्मीमा माओवादीको मेयरलाई मत दिन नसक्ने भन्दै काँग्रेस कार्यकर्ता धमाधम राप्रपातिर



काठमाडौं, ११ वैशाख । ललितपुरको महालक्ष्मी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको तालमेलमा माओवादीले मेयरको उम्मेदवार पाउने सहमति बनेलगत्तै काँग्रेसमा विद्रोह सुरु भएको छ । काँग्रेसका नाम चलेका नेता कार्यकर्ता राप्रपामा प्रवेश गर्न थालेका छन् ।

विश्वस्त स्रोतका अनुसार इमाडोल क्षेत्रका नाम चलेका काँग्रेस नेता राप्रपाबाट मेयरको उम्मेदवार बन्ने बुझिएको छ । विगतमा काँग्रेसबाट उम्मेदवार बनेकाहरु पनि राप्रपाबाट चुनाव लड्ने गरी अगाडि बढेका छन् ।

महालक्ष्मीमा काँग्रेसबाट प्रवेश गरेकाहरुलाई टिकट दिनुपर्ने अवस्था बनेपछि आजको मनोनयन रोकिएको छ । राप्रपाका एक नेताले बताए अनुसार टिकट माग्नेको संख्या सयौं भएपछि मिलाउन कठिन भएको छ ।

इमाडोल क्षेत्रबाट मात्र नभई टिकाथली, सानागाउँ, लुभु र लामाटारबाट पनि टिकटको माग गर्दै केन्द्रीय नेता आनन्द अधिकारीको घरमा लाम लाग्न थालेको छ । अधिकारी आफै आश्चर्यचकित भएको र केन्द्रमा कुरा गरेर मनोनयन नै रोकेको बुझिएको छ ।

यसैगरी, नेकपा एमालेले पनि विवादास्पद व्यक्तिलाई टिकट दिएको छ । लुभु गाविसका पूर्व अध्यक्ष हरिगोविन्द श्रेष्ठ विगतमा जग्गाको विषयमा धेरै विवादमा आएका थिए । बहालवाला मेयर रामेश्वर श्रेष्ठले टिकट नपाएपछि एमालेभित्र पनि असन्तुष्टि व्याप्त छ ।

अर्कोतर्फ, नेकपा एस महालक्ष्मीमा गठबन्धन बाहिर पुगेको छ । एसले एमालेलाई मत नदिने र आफ्नो उम्मेदवार पनि नजित्ने अवस्था निर्माण भएपछि विकल्प खोज्न थालेको छ । यही अवसरमा राप्रपाले इमाडोलका रैथाने एकजना चर्चित अनुहारलाई अगाडि सार्ने तयारी गरेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्