Logo

भरतपुरलाई केन्द्रले पटकपटक पेल्यो, रेनु दाहालका पक्षमा मत माग्ने अवस्था छैनः कांग्रेस नेता



काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले भरतपुरमा रेनु दाहालका पक्षमा मत माग्ने अवस्था नभएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “गएको चुनावमा पनि हामीले माओवादी केन्द्रलाई सहयोग गर्यौं । अहिले पनि माओवादीलाई नै मेयर दिनुपर्छ भने । हामीले २९ वडा समिति, क्षेत्रीय समिति, महासमिति, महाधिवेशन प्रतिनिधिहरुले पार्टी सभापति, वरिष्ठ नेताहरु, महामन्त्री लगायतलाई भेटेर आग्रह गरेका हौं । फेरि माओवादीलाई नै दिएपछि कांग्रेस सम्हालिएको छैन ।”
“नेता गुरुङले आफूले केन्द्रको निर्देशन माने पनि कार्यकर्तालाई सम्हाल्ने पहल केन्द्रले नै गर्नुपर्ने बताए । उनले भने, “मैले व्यक्तिगत रुपमा केन्द्रको निर्णय मान्दिनँ भन्न पाउँदिनँ । तर केन्द्रले समस्या समाधान गरिदिनु परेन ? हामीले सहयोग गर्ने कुरा त ठीकै छ । तर भरतपुर किन असन्तुष्ट छ ? भरतपुरलाई किन पटकपटक बाइपास गरेको हो ? गठबन्धन भनेपछि आलोपालो गर्न मिल्दैन ? एकै ठाउँमा कति पेलेको ?”
जम्मा दुइटा वटा जितेको माओवादीलाई ५ वटा दिँदा पनि अझै ७ वटा मागेकामा पनि उनले आपत्ति जनाए । गुरुङले थपे, “भरतपुरमा माओवादीले जम्मा दुइटा वडा जितेको हो । ५ वटा दिँदा पनि अझै चाहिन्छ भनेर हाम्रै वडा ताकेको छ । गठबन्धन भनेको आवश्यकता र ठाउँ हेरेर गर्ने हो । भरतपुरजस्तो संवेदनशील ठाउँमा केन्द्रले पटकपटक हस्तक्षेप गरेको छ । मैले केन्द्रको निर्णय अवज्ञा गर्न मिल्दैन । तर रेनुको पक्षमा मत माग्ने अवस्था छैन । धेरै पुराना कांग्रेसको चित्त दुखाएको छ । यहाँ ६० हजार भोट छ कांग्रेसको । पूर्व माननीय जगन्नाथ पौडेलले उम्मेदवारी दिने सुनेको छु । चुनाव लड्नु उहाँको मौलिक हक हो । हामीले कसरी रोक्ने ?”



प्रतिक्रिया दिनुहोस्