काठमाडौं, १२ वैशाख । नेपाली काँग्रेसले ३ महानगरपालिकाहरुमा मेयरको उम्मेदवार टुंगो लगाएको छ । काठमाडौं महानगरपालिकाबाट सृजना सिंह, ललितपुरबाट चिरिबाबु महर्जन र विराटनगरबाट नागेश कोइराला उम्मेदवार बन्ने टुंगो लागेको हो ।
उम्मेदवारहरुमध्ये सृजना सिंह पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् । उनी टिकट बाँडफाँडमा सिंहको पक्षबाट परेकी हुन् ।
ललितपुरमा मेयरका उम्मेदवार चिरिबाबु महर्जन सभापति शेरबहादुर देउवानिकटस्थ हुन् । उनी देउवाको पक्षबाट टिकट पाउन सफल भएका हुन् ।
विराटनगरमा उम्मेदवार बनेका नागेश कोइरालाले प्रभावशाली नेताहरुबीचको रस्साकस्सीबीच टिकट पाउने सफलता हासिल गरे । कोइराला परिवार निकट नागेशको केन्द्रीय सदस्य सुजाता कोइरालासँग निकट छन् । उनलाई केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि समर्थन गरेपछि नाम टुंगिएको हो । देउवाले विराटनगरमा भीम पराजुललाई नै उठाउन खोजेका थिए । तर, शेखर कोइरालाले अमृत अर्याललाई उठाउन खोजेका थिए । अन्तमा सुजातासँग निकट मानिएका नागेशले बाजी मारे ।