गोरखा, १२ बैशाख । आज ‘गोरखा भूकम्प’ गएको सात वर्ष पुगेको दिन । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर विसं २०७२ आजकै दिन ७.६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७० जनाको मृत्यु भएको भएको घटनालाई विश्वभर ठूलो विपद्का रूपमा लिने गरिन्छ ।
तीन वर्षअघि चीनबाट सुरु भई विश्वका अधिकांश मुलुकमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट नेपालमा पनि झण्डै १२ हजारको मृत्यु हुनुलाई ठूलै महामारीका रूपमा हेरिएको छ । यस सन्दर्भमा वर्षमा २२ हजार मानिसको घरभित्रकै धुवाँको कारण अकालमै मृत्यु भइरहँदा पनि यसतर्फ सरकार, राजनीतिक दल मात्र होइन, सर्वसाधारण पनि गम्भीर देखिंँदैनन् ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक वर्ष घरभित्रको वायु प्रदूषणका कारण २२ हजार मानिसको मृत्यु भइरहेकाले यसतर्फ ध्यानाकर्षण गराइए पनि यो विषय कसैको प्राथमिकतामा परेको छैन । सङ्गठनका अनुसार विश्वभरि करिब ३।८ करोड मानिसको मृत्युको कारण घरभित्रको वायु प्रदूषणले हुने गरेको छ ।
मुलुक यतिबेला स्थानीय तहको निर्वाचनको प्रक्रियामा रहेको र उम्मेदवारहरू आज मनोनयन गरिसकेपछि मतदाताका घरदैलामा पार्टीका घोषणापत्र लिएर मत माग्न जाँदैछन् । उम्मेदवार र मतदाताबीच मत माग्ने काममा पाँच वर्षपछि भेट हुँदै गर्दा भान्छामा परम्परागत ढङ्गबाट खाना पकाउँदा निस्कने धुवाँका कारण पाँच वर्षका अन्तरालमा एक लाखभन्दा बढीले अकालमै ज्यान गुमाइसकेका छन् ।
सहरी क्षेत्रमा यो समस्या त्यतिधेरै गम्भीर नभए पनि ग्रामीण क्षेत्रमा बसोबास गर्ने झण्डै ७९।४२ प्रतिशत जनसङ्ख्या अहिले पनि खाना पकाउने ऊर्जाको प्रमुख स्रोतका रूपमा दाउरा, गुइँठा र कृषि अवशेष नै प्रयोग गरिरहेका छन् । नेपालको ६० प्रतिशतभन्दा बढी ऊर्र्जा स्रोत अझै पनि वन पैदावार र कृषि अवशेषमा आधारित रहेको पाइन्छ ।
यस्ता बायोमासको प्रयोगले महिला र बालबालिकाको स्वास्थ्यमा नराम्रो असर पार्छ, वातावरण प्रदूषण बढाउँछ र जलवायु परिवर्तनको जोखिम बढाउँछ । घरभित्रै हुने वायु प्रदूषणको लामो समयसम्म सम्पर्कमा हुँदा धेरै महिला तथा बालबालिका निमोनिया, मुटु तथा फोक्सोमा दीर्घकालीन समस्या, अर्वुदरोग जस्ता नसर्ने खालका दीर्घ रोगको सिकार बनेका छन् ।
परम्परागत स्रोतको प्रयोगबाट जनस्वास्थ्य र वातावरणमा प्रतिकूल असर पुग्नाका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव पर्छ । एकातिर दाउरा तथा कृषि अवशेषको प्रयोग गर्दा समय बढी लाग्ने तथा कामको प्रभावकारितामा पनि कमी आउने, जनस्वास्थ्य र वातावरणमा असर पुग्ने हुन्छ भने एलपिजी ग्याससमेत विश्व बजारमा दैनिकजसो महँगिदै गएकाले आर्थिक हिसाबले उपयुक्त छैन ।
खास गरेर भान्छामा लामो समय बसेर खाना पकाउने महिला र आमासँगै बस्ने सन्तानको स्वास्थ्यमा नराम्रो असर परिरहेको हुन्छ । यस अवस्थाबाट मुक्त रहन विद्युत्, एलपिजी र बायोग्यासजस्ता आधुनिक ऊर्जा स्रोतको खपतलाई बढाउन आवश्यक छ । ऊर्र्जाको आधुनिक र प्रभावकारी उपयोग गर्नाले खाना पकाउने ऊर्र्जाको लागत घट्छ, समयको बचत हुन्छ र घरभित्रको वातावरण सुधारमा सहयोग पुग्छ । सफा आधुनिक ऊर्र्जाको प्रयोगबाट खाना पकाउँदा विभिन्न लाभ प्राप्त हुन्छ । रासस आलेख