Logo

गठबन्धनमा सकसः कतै विद्रोह कतै एक्लाएक्लै



काठमाडौं, बैशाख १३ । सत्तारुढ पाँच राजनीतिक दलले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका थिए। तर सहमतिअनुसार अधिकांश ठाउँमा साझा उम्मेदवार खडा गर्न गठबन्धनका दलहरू असफल भएका छन्।

कतिपय जिल्लाका पालिकाहरूमा गठबन्धनबीच भागबन्डा नमिल्दा दलहरूले एक्लाएक्लै उम्मेदवारी दर्ता राएका छन्। गठबन्धनका दलहरूबीचमै कतिपय स्थानमा सबैलाई सँगै लैजान नसक्दा तीव्र असन्तुष्टि उत्पन्न भएको छ भने अर्कोतर्फ भागबन्डा मिलेका केही जिल्लामा आन्तरिक व्यवस्थापन नहुँदा बढेको असन्तुष्टिले बागी उम्मेदवार खडा भएका छन्।

उनीहरूलाई व्यवस्थापन गरेर निर्वाचन परिणाम आफ्ना पक्षमा ल्याउन गठबन्धनका नेताहरूसामु थप चुनौती खडा हुने देखिएको छ। गठबन्धनका दलहरूबीच सहमति जुट्न नसके मित्रवत् प्रतिस्पर्धा गर्ने तर अन्य दलहरूसँग तालमेल नगर्ने निर्देशन शीर्ष नेताहरूले दिए पनि केही जिल्लामा गठबन्धनमा रहेका दल विपक्षी एमालेसँग मिलेर निर्वाचन प्रतिस्पर्धामा उत्रिएका छन्।

त्यतिमात्र होइन, पार्टीका शीर्ष नेताहरूले नै भागबन्डा मिलाएका ६ महानगर र ११ उपमहानगरमै नेता तथा कार्यकर्ताले त्यसलाई उल्लङ्घन गरेका छन्। केन्द्रीय नीतिविपरीत भारतपुर,पोखरासहितका महानगरपालिकामा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताले बागी उम्मेदवारी दर्ता गराएका छन्। आफ्नै पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा गठबन्धनको नेतृत्व गरेको कांग्रेसले सोमबारमात्र उम्मेदवार टुंगो लगाएको थियो। त्यसले गर्दा सत्ता गठबन्धनभित्रको विवाद व्यवस्थापन थप चुनौतीपूर्ण बन्न पुगेको छ।

उम्मेदवारी मनोनयनको अन्तिम दिन सोमबार बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेल गरेर जान अधिकतम प्रयास गर्ने निर्णय गरेको थियो। गठबन्धनको भावनाअनुसार नै अघि बढ्न शीर्ष नेताहरूले पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका थिए। उम्मेदवारी मनोनयन दर्तापछि पनि चुनावी तालमेल गरेर अघि बढ्न सकिने नेताहरूले जनाउँदै आए पनि सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले गठबन्धन नै कायम नरहेको भन्दै असन्तुष्टि जनाएको छ।

सत्ता साझेदार दलहरूले कतिपय जिल्लामा आफूहरूलाई अलग्याएको भन्दै सो दलका नेताहरूले असन्तुष्टि जनाएका छन्। यद्यपि शीर्ष नेताहरूले मनोनयन दर्ता भए पनि उम्मेदवारी फिर्ताको समयसम्म गठबन्धनको भावनाअनुसार अघि बढ्न सकिने जनाएका छन्। त्यसअनुसारको गृहकार्यमा नेताहरू जुटेका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्