Logo

भूकम्प स्मृतिसभाः स्वयंसेवकको सुरक्षामा गर्न माग



काठमाडौं, १३ वैशाख । नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले विसं २०७२ वैशाख १२ गतेको अकल्पनीय विनाशकारी भूकम्पमा परी अकालमा ज्यान गुमाएका आफ्ना कर्मचारी तथा स्वयंसेवकको स्मृतिमा श्रद्धाञ्जलिसभा आयोजना ग¥यो ।

विश्व सम्पदा सूचीमा अवस्थित ऐतिहासिक काष्ठमण्डपमा रक्त सङ्कलन भइरहेको अवस्थामा गएको भूकम्प कारण सो दिन केन्द्रीय रक्तसञ्चार सेवामा कार्यरत वरिष्ठ प्रविधिक सहायक लालमाया गुरुङ, रक्त सङ्कलन स्वयंसेवक सानुमैया कपाली र सिम्रन डङ्गोललगायत स्वयंसेवी रक्तदाताको निधन भएको थियो ।

सोमबार आयोजित सभालाई सम्बोधन गर्दै केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले मानवीय सेवामा तल्लीन रेडक्रसका स्वयंसेवक र कर्मचारीको सुरक्षामा विशेष ध्यान दिन सरकारसँग आग्रह गरे । उनले भने, “रक्तसञ्चार सेवालाई चुस्त बनाउन सामूहिक सहकार्य र समन्वयको आवश्यक छ । यसमा नेरेसोले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।” उनले पालिकाहरुको सहकार्यमा नेरेसोले निःशुल्क रक्तसञ्चार अभियान सुरुआत गरिसकेको जानकारीसमेत दिए ।

कार्यक्रममा रक्तसञ्चार सेवाका कर्मचारी गमला क्षेत्री र राम श्रेष्ठले आफूहरूले सो दिन ‘फिल्ड’मा खटिँदा भोगेको अनुभव सुनाउँदै आगामी दिनमा पनि मानवीय सेवामा तल्लीन हुने बताए । नेरेसो कर्मचारी सङ्घका अध्यक्ष विष्णु तिम्सिनाले अग्रपङ्क्तिमा खटिने कर्मचारी तथा स्वयंसेवकको मनोबल बढाउन राज्य र संस्थाले थप काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले व्यक्तिगत, सामुदायिक र संस्थागत पूर्वतयारीको थप खाँचो औल्याउँदै यसका लागि प्रयास भइरहेको जानकारी दिए । उनले भने, “मानवीय सेवा तथा विपद् प्रतिकार्यका लागि नेरेसोले दीर्घकालीन योजना बनाई समुदायमा काम गरिरहेको छ ।” रासस



प्रतिक्रिया दिनुहोस्