Logo

स्थानीय तह निर्वाचनः चार गुणा बढी उम्मेदवारी



काठमाडौं, बैशाख १४ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पदभन्दा चार गुणा बढी उम्मेदवारी परेको छ । देशका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी कुल ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि १ लाख ५० हजार ५ सय ९८ जनाको उम्मेदवारी परेको हो । मंगलबार रातिसम्म पनि निर्वाचन आयोगले उम्मेदवारको विवरण रुजु गर्ने कार्य जारी राखेको थियो ।

निर्वाचन आयोगका अनुसार मंगलबार रातिसम्म नगर प्रमुखमा ३ हजार ४ सय ६६ जना र उपप्रमुखमा २ हजार १ सय ३६ जनाको उम्मेदवारी रुजु भएको छ । यसैगरी अध्यक्षमा ३ हजार ३ सय ७८ जना र उपाध्यक्षमा २ हजार ३ सय ९२ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

यसैगरी ६ हजार ७ सय ४३ वडाको वडा अध्यक्ष पदका लागि ३४ हजार ९ सय ५८ जनाको उम्मेदवारी दर्ता भएको आयोगले बताएको छ ।यस्तै, महिला सदस्यमा २६ हजार ८४, दलित महिला सदस्यमा २३ हजार ४ सय ८२ र सदस्यमा ५४ हजार ७ सय २ जनाको उम्मेदवारी परेको आयोगले भनेको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तह निर्वाचनका लागि सबैभन्दा बढी उम्मेदवारी सदस्य पदमा परेको जानकारी दिए । सबैभन्दा बढी उम्मेदवारी सदस्य पदमा परेको छ, सदस्यमा मात्रै ५४ हजारभन्दा बढीको उम्मेदवारी परेको छ,’ निर्वाचन आयोगका प्रमुख आयुक्त थपलियाले भने ।

३० वैशाखमा हुने निर्वाचनमार्फत १५ सय ६ जना प्रमुख तथा उपप्रमुख, ६ हजार ७ सय ४३ वडामा वडा अध्यक्ष र ती वडाका २६ हजार ९ सय ७२ सदस्य चयन हुनेछन् । यी सबै गरी स्थानीय तहमा मात्रै ३५ हजार २ सय २१ जनप्रतिनिधि चयन हुनेछन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot