Logo

६ खर्बको विकास आयोजना ठप्प



काठमाडौं, बैशाख १४ । निर्माण व्यवसायीले मूल्य समायोजनलगायत माग राखेर ‘कन्स्ट्रक्सन होलिडे’ गरेपछि ६ खर्ब बराबरको विकास आयोजनाको काम रोकिएको छ ।

निर्माण व्यवसायी महासंघको नेतृत्वमा निर्माण सामाग्रीको मूल्य अत्यधिक बढेको भन्दै आइतबारदेखि व्यवसायी हडतालमा उत्रिएका हुन् । निर्माण व्यवसायीको हड्तालका कारण ६ खर्बका ३ हजार ७ सय आयोजनाको काम रोकिएका छन् ।

निर्माण व्यवसायीले बिमा निर्देशिका २०७८ खारेज हुनुपर्ने, सार्वजनिक खरिद नियमावलीको ११औं संशोधनमा रहेको विभेदकारी व्यवस्था हटाउनुपर्नेलगायतका माग गरेका छन् । उनीहरूले यसअघि बिमा समितिको कार्यालयलगायतमा धर्नासमेत दिएका थिए ।

सार्वजनिक खरिद नियमावलीको ११औं संशोधनमा दर रेट फरक राखेर साना निर्माण व्यवसायी विभेद गरिएको उनीहरूको महासंघले जनाउँदै आएको छ ।

सरकारले विकास खर्च गर्न नसकिरहेको अवस्थामा निर्माण व्यवसायीको आन्दोलनले विकास खर्चमा झनै समस्या पर्ने देखिएको छ । प्रतिस्थापन विधेयकका कारण समयमा बजेट कार्यान्वयन नभइरहेको अवस्थामा व्यवसायीले निर्माण क्षेत्रमा हडताल थालेका हुन् ।

नौ महिना पुग्दा पुँजीगत खर्च २८.३५ प्रतिशत मात्रै रहेको छ । चालू आर्थिक वर्षका लागि ३ खर्ब ७८ अर्ब विकास बजेट छुट्याएकोमा हालसम्म १ खर्ब ७ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ ।

कतिपयले भने सत्तारूढ दल समर्थक निर्माण व्यवसायीबाट नै हडताल हुनुमा मिलेमतोमा गरिएको आन्दोलन भनेरसमेत आलोचना गरिएको पाइएको छ ।

प्राविधिक रूपमा पहिला नै टेन्डर भएको आयोजनालाई मूल्यवृद्धिका आधारमा थप रकम दिन नमिल्ने भएपछि हडताल गरेर मूल्य बढाउन आन्दोलन गरिएको टिप्पणी हुने गरेको छ ।

महासंघको अध्यक्षमा रवि सिंह नेपाली कांग्रेसकै नेता भएको र कांग्रेस नेतृत्वमा नै रहेको सरकारको विरुद्ध आन्दोलन गर्नुले आन्दोलन गरेजस्तो गरेर मूल्यवृद्धि गराउन खोजिएको आरोपसमेत लागेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot