Logo

पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह



काठमाडौँ,१५ वैशाख । गृहमन्त्री बालकृष्ण खाणले भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता जगन्नथ पौडेल सहित उनका प्रस्ताबक र समर्थकलाई आज भेट गरेका छन् । भेटका क्रममा मन्त्री खाणले उम्मेदवारी फिर्ता लिएर गठबन्धनलाई सघाउन आग्रह गरेका छन् ।

पौडेलसँगको भेटपछि पत्रकारसँग कुराकानी गर्दै मन्त्री खाणले स्वतन्त्र उम्मेदवारी दिनुभएका पौडेलले पार्टीको निर्णयलाई कार्यान्वयन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । उनले भने,“पार्टीले विशष परिस्थितिमा गठबन्धन गरेको छ । पार्टीले गरेको निर्णयलाई हामी सबैले अघि बढाउँ कार्यान्वयन गराउँ भन्नेनै हामीले विशेष आग्रह गरेका छौँ ।” निर्वाचनको समयमा पार्टीले आधिकारिक उम्मेदवार दिने जनाउँदै उहाँले कांग्रेस सधैँ लोकतन्त्रका लागि प्रतिवद्ध रहेको बताए ।

उनले भने “अहिले असहज परिस्थिति छ । यो असहज परिस्थितिबाट कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो ।” पौडेललाई भेट्नु अघि प्रस्तावक मीना खरेल र समर्थक कृष्णलाल सापाकोटसँग पनि गृहमन्त्री खाणले भेटवार्ता गरेका थिए । गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता पौडेलले आफू आफ्नो उम्मेदवारीबाट फिर्ता नहुँने ठाउँमा पुगेको जानकारी गराएको बताए ।

उनले भने, “गृहमन्त्रीलाई मैले यो चिवतन जिल्लाका साथीको मान मर्यादा र उनीहरुको भविष्यसँग जोडिएको विषय छ । यो मैले एक्लै निर्णय गर्ने होइन त्यसो हुनाले मलाई गाह्रो छ भने ।” छलफलका क्रममा गृहमन्त्री खाण, राज्यमन्त्री उमेश श्रेष्ठ, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, जिल्ला उपसभापति राजीव न्यौपाने सहभागी भएका थिए । रासस



प्रतिक्रिया दिनुहोस्