Logo

बागी उम्मेदवारी फिर्ता गर्न देउवाको आग्रह



काठमाडौं, बैशाख १६ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने नेताकार्यकर्तालाई आज शुक्रबार बेलुकीसम्म उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । निर्वाचन आयोगले शुक्रबार साँझ पाँच बजेसम्म उम्मेदवारी फिर्ता गर्ने समय दिएको छ ।

सभापति देउवाले बिहीबार एउटा विज्ञप्ति जारी गरी बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन अपिल गरेका हुन् । विज्ञप्तिमा लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गरी देश, संविधान र गणतन्त्रलाई जोगाउन मुलुकमा लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरूका बीचमा तालमेल र सहकार्य गरी मुलुकलाई राजनीतिक स्थायित्व र सहज निकास दिनुपर्ने आवश्यक्ता रहेको भन्दै देउवाले भने– ‘स्थानीय अवस्थाअनुसार चुनावी तालमेल गर्ने र संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारहरूलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भहरूलाई मजबुद बनाउनु आजको सर्वाधिक आवश्यकता हो ।’

एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थितिप्रति आफू जानकार रहेको जिकिर गर्दै देउवाले भने– ‘तर पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी’ भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठबन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’

पाँच दलीय गठबन्धनको निर्णय र सहमतिअनुसार, पार्टीका उम्मेदवार र गठबन्धनमा रहेका दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी बनाउने अभियानमा सक्रिय हुनुपर्नेमा, त्यसको विपरीत पार्टीकै साथीहरूबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएको र गठबन्धन गरिएका दलहरूका बीचमा भएको सहमतिअनुसार उम्मेदवारी छाड्नुपर्ने स्थानमा समेत उम्मेदवारी दर्ता गराएको पाइएको भन्दै जारी विज्ञप्तिमा अगाडी भनिएको छ, ‘देशभरका स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका पार्टीका साथीहरूले आ–आफ्नो उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot