काठमाडौं, १६ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको बृहत्तर र दीर्घकालीन हितका लागि भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई छाडेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा. महतले भने, “भरतपुरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलजी नेपाली कांग्रेसका पुराना नेता हुनुहुन्छ । म उहाँलाई सम्मान गर्न चाहन्छु । पार्टीका साथीहरुमा जनाधार बढी छ, हामीले अरुलाई किन स्वीकार्ने भन्ने भनाइ स्वाभाविक पनि हो । स्थानीय तवरबाट उहाँहरुले राखेको भनाइ ठीक पनि हो । तर केन्द्रमा ५ दलीय गठबन्धन बनेपछि पार्टीको बृहत्तर र दीर्घकालीन हितका लागि केन्द्रीय नेतृत्वले लिएको निर्णय बुझिदिन हामीले अनुरोध गरेका छौं । मलाई लाग्छ, पौडेलजीले बुझ्नुहुन्छ ।”
उनले भरतपुरमा नेपाली कांग्रेसले मेयर नपाए पनि उपमेयर, वडाहरु पाएको स्मरण गराए । उनले भने, “पार्टीले सबै ठाउँमा जित्ने त होइन । जहाँ एक्लै लड्दा हार्ने अवस्था थियो, त्यहाँ तालमेल गर्दा जित्ने सुनिश्चितता भएको छ । अधिकांश ठाउँमा जनाधारका आधारमा टिकट बाँडिएको छ । गठबन्धनका साथीहरुले जिद्दी गरेपछि केही ठाउँमा अपवाद निर्णय भएको छ । भरतपुरको हकमा पनि त्यही भएको हो । मेयर रेणुजीले पाउनुभएको छ । उहाँले एक्लै चलाउने होइन । उपमेयर, वडाध्यक्षहरु हामीले नै पाएका छौं । अब एकअर्कालाई सहयोग गरेर जानु नै उपयुक्त हुन्छ ।”
नेता डा. महतले बागी उम्मेदवारी फिर्ता नगर्नेलाई पार्टी विधान अनुसार कारबाही हुने पनि बताए । उनले थपे, “नेपाली कांग्रेस ठूलो पार्टी छ । पुराना, सक्षम हजारौं साथीहरु छन् । तर टिकट एउटैले पाउँछ । सबैले एकै पटक भाग पाउँदैनन् । अरु साथीहरुले अरु ठाउँमा जिम्मेवारी पाउँछन् । मलाई लाग्छ, स्वतन्त्र उम्मेदवारी दिने अधिकांशले फिर्ता गर्छन् । अन्यथा विधानको व्यवस्था अनुसार कारबाही हुन्छ ।”
नेकपा एमालेले राजनीतिलाई मजाकको विषय बनाएको आरोप पनि लगाए । कांग्रेस प्रवक्ताले भने, “अब के कारणले एमालेलाई मत दिने ? ५ वर्षको म्यान्डेट पाए पनि पूरा कार्यकाल बिताउन सकेन । राजनीति गफ होइन, मनोरञ्जन पनि होइन । राजनीतिमा इमान, समर्पण र दूरदृष्टि चाहिन्छ । त्यसैले केपी ओलीको उन्ठेउलो पाराले देश चलाउन रोक्नु जरुरी छ । नेपाली कांग्रेसले मात्र देशलाई गम्भीर र सक्षम नेतृत्व दिन सक्छ ।”