Logo

अबको मन्त्रिपरिषद बैठकले कस्लाई बनाउला आइजीपी ?



काठमाडौं, १६ वैशाख । नेपाल प्रहरीले अबको मन्त्रिपरिषदबाट नयाँ आइजीपी पाउने भएको छ । १९ वैशाखबाट वर्तमान आइजीपी शैलेश थापा क्षेत्री सेवानिवृत्त हुने निश्चित भएसँगै नयाँ आइजीपी पाउने भएको हो ।

नयाँ आइजीपी बनाउन सरकारले गृहकार्य थालिसकेको छ । यसका लागि प्रहरी नियमावली अनुसारको मूल्यांकन गृहमा पठाएर त्यहाँबाट मन्त्रिपरिषद्मा पुग्नेछ । मन्त्रिपरिषदले आइजीपी नियुक्त गर्नेछ ।

प्रहरी नियमावली अनुसार ‘जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सार्मथ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ’ भन्ने छ । नियमावलीमा जेष्ठतालाई अगाडि राखिएपनि कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन, नेतृत्व क्षमता, प्रहरी परिचालन र प्रोत्साहनलगायतका विषय पनि समावेश छन् ।

विभिन्न आधारहरुलाई टेकेर सरकारले आइजीपी नियुक्ति प्रक्रियामा कदम बढाइसकेको बुझिएको छ । अबको केही दिनभित्रै नयाँ आइजीपीले कमान्ड सम्हाल्नेछन् ।

स्थानीय चुनाव आउन केही दिनमात्र बाँकी रहेको र संघ र प्रदेशको चुनाव पनि यसै वर्ष हुने भएकाले प्रहरीका आइजीपी को बन्ने भन्ने चासो बढेको छ । अहिले भावी आइजीपीका लागि ४ प्रतिष्पर्धी छन् । जसमध्ये विश्वराज पोखरेल, सहकुल थापा, धीरज प्रताप सिंह र रवीन्द्र धानुक हुन् ।
प्रहरीमा इन्सपेक्टरबाट डिएसपी र एसपी सम्ममा यीमध्ये कोही निकै पछाडि त कोही अगाडि थिए । तर, एसएसपीमा पुगेपछि विश्वराज पोखरेलले आफूलाई अगाडि बढाउन थाले । यसमा राजनीतिक पहुँचले पनि काम गरेको हो । डिइआजी र एआइजी बढुवामा उनले आफूभन्दा अघिल्लो ब्याचीलाई समेत उछिनेर छलाङ मारेका थिए । तर, यही छलाङले उनलाई चुनौतीपूर्ण अवस्थामा पारेको छ ।

पोखरेलकै शैलीमा सहकुल थापाले पनि छलाङ मारे । उनी एसएसपी, डिआइजी र एआइजी बढुवामा उफ्रिएर बढेका थिए । एआइजी बढुवामा विश्वराज पोखरेलकै शैलीमा दरबन्दी सृजना गराउन सफल भएर एक्लै बढुवामा परे ।

जसरी पोखरेल र थापाले गरे त्यसरी नै सिंह र धानुक दरबन्दी सृजना गरी एआइजी बढुवामा परे । यसलाई उनीहरुमध्येबाट प्रधानमन्त्री शेरबहादुर देउवाले आइजीपी बनाउन खोजेको बुझ्न थालियो । हुनपनि सिंहलाई आइजीपीमा बढाउने गरी बालुवाटार सकारात्मक भइसकेको छ । सम्भवतः सिंहलाई नै आइजीपी बनाउने तयारी भएको विश्वस्त स्रोतले बताएको छ ।

बालुवाटारमा आइजीपीमा वरियता मिच्न हुँदैन भन्ने सुझावहरु नपुगेका होइनन् । तर, देउवाले पुराना इतिहास हेरेको बुझिएको छ । हालका आइजीपीका ४ प्रतिष्पर्धीहरु एसपी हुँदाको अवस्था पनि अध्ययन गरेका छन् । एसएसपी पछि भने राजनीतिक पहुँचका आधारमा छलाङ मार्न थालेको देखिएको छ । यसमा राजनीतिक प्रभावले पनि काम गरेको थियो ।

विशेषगरी केपी शर्मा ओली प्रधानमन्त्री हुँदा विश्वराज पोखरेलले सबैभन्दा बढी फाइदा लिए । उनले इश्वर पोखरेलको साथ पाएर आफूभन्दा अघिल्लो ब्याचीलाई उछिनेर बढे । यतिसम्मकी शैलेश थापा क्षेत्रीको ब्याचीलाई उछिनेर आइजीपी बन्ने सम्मको महत्वाकांक्षामा पुगे । ओली सरकार ढल्दै गर्दा सहकुल थापाले पनि एआइजीको दरबन्दी सृजना गरी बढुवा पाउन सफल भए ।

बालुवाटारले यही इतिहास बुझेर धीरजप्रताप सिंहलाई अगाडि बढाएको बुझिएको छ । उनीसँगै अन्य दुईलाई समेत बढुवा दिने गरी दरबन्दी सृजना गरियो । यसभित्र सिंहलाई नै आइजीपी बनाउने योजना थियो । अब कुनै आश्चर्यजनक घटना विकास नभए सिंह नै आइजीपी बन्ने निश्चित भएको छ ।

सिंह आइजीपी हुने चर्चा सँगै प्रहरीको तल्लो तहकाहरुमा समेत उत्साह बढेको बुझिएको छ । सिंह तल्लो तहका प्रहरीलाई पनि निकै ध्यान दिने खालका अधिकृत हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot