Logo

नम्बर वान इन्स्पेक्टर भएर प्रहरीमा प्रवेश गरेका सिंहलाई आइजीपी बनाउने तयारी



काठमाडौं, १६ वैशाख । नेपाल प्रहरीमा १२ चैत्र २०४९ मा प्रवेश गर्दा धीरजप्रताप सिंह नम्बर एकमा रहेर इन्स्पेक्टर बनेका थिए । २०६१ मा डएसपी हुँदा पनि उनी नम्बर एक नै बनेर बढुवा भए । २०६९ मा एसपी हुँदा पनि सिंह नम्बर वान नै रहे ।

सिंहलाई त्यतिबेला धेरैले भावी आइजीपीको रुपमा लिएका थिए । तर, एसएसपी हुँदा उनी नम्बर वानबाट तल झारिए । विश्वराज पाखरेलले त्यसपछि निरन्तर बाजी मार्दै गए ।

सिंहको ब्याची विश्वराज पोखरेल इन्स्पेक्टर भएर सेवा प्रवेश गर्दा १६ नम्बरमा थिए । डिएसपी हुँदा १८ र एसपी हुँदा ५ नम्बरमा थिए । तर, एसएसपी हुँदा आफ्ना ब्याचीका ४ जनालाई उछिनेर नम्बर वान बन्न पुगे । सिंह २ नम्बरमा एसएसपी बढुवा भए ।

डिआइजी बढुवामा पोखरेलले फेरि छलाङ मारे । डिआइजी सुशील भण्डारीको सडक दुर्घटनामा मृत्यु भयो । पूर्व आइजीपी ठाकुर ज्ञवालीको ब्याचका वीरेन्द्र श्रेष्ठलाई बढुवाको प्रयास भयो । तर, पोखरेलले राजनीतिक प्रभावमा डिआइजी बन्ने सफलता हासिल गरे । उनले आफूभन्दा अघिल्लो ब्याचीलाई मात्र नभई दुई ब्याचलाई उछिनेका थिए ।

पोखरेललाई डिआइजी बनाउन तत्कालीन केपी शर्मा ओली सरकारका प्रभावशाली मन्त्रीहरुको दबाब परेको थियो । विश्वस्त स्रोतका अनुसार तत्कालीन आइजीपी सर्वेन्द्र खनालले ६ महिनासम्म फाइल अड्काएका थिए । फेरि राजनीतिक दबाबले पोखरेलले बाजी मारे ।

हालका आइजीपी शैलेश थापा क्षेत्री आइजीपी बन्दा प्रतिष्पर्धीहरु हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की थिए । चारैजनालाई उछिनेर पोखरेल आइजीपी बन्ने प्रयासमा लागेका थिए । तर, त्यसमा उनी सफल भएनन् । पछि क्षेत्रीकै ब्याचीहरु पाल, शाही र कार्की एआइजीमा बढुवा भए ।

पोखरेलले शक्तिको प्रयोग गरेर एआइजीको दरबन्दी सृजना गराउन सके । उनी एआइजी बढुवा भए । एमालेकै एउटा पक्ष उनीसँग असन्तुष्ट हुँदै गयो । त्यसपछि एआइजीको अर्को दरबन्दी सृजना गरेर सहकुल थापालाई एआइजी बढुवा गरियो ।

पोखरेलको प्रहरी बढुवाको इतिहास बुझेर बालुवाटार गम्भीर भयो । त्यसपछि तीन एआइजीको दरबन्दी सृजना गरी धीरज प्रताप सिंहलाई अगाडि बढाउने तयारी भयो । त्यस अनुसार सिंहसहित रवीन्द्र धानुक एआइजीमा बढुवा भए । उनीहरुसँगै हालका आइजीपी क्षेत्रीसँगै वसन्त पन्तको भाग्योदय भयो । उनी एआइजीमा बढुवा भए ।

अहिले आइजीपीको प्रतिष्पर्धा पेचिलो बनेको छ । प्रतिष्पर्धामा ४ जना छन् । विश्वराज पोखरेल वरियतामा पहिलो, सहकुल थापा दोस्रो, धीरज सिंह तेस्रो र रवीन्द्र धानुक चौंथो नम्बरमा छन् ।

इन्स्पेक्टर, डिएसपी र एसपीमा नम्बर वान भएका धीरज सिंहलाई अगाडि बढाउने तयारी भएको छ । हाल एआइजीमा वरियतामा आफ्नो ब्याचीबाट पहिलो नम्बरमा रहेका पोखरेलाई वरिष्ठताका आधारमा गर्नुपर्ने विषय पनि आएको छ । तर, प्रहरी सेवामा सिंह सेवा प्रवेश र दुईवटा सुरुका बढुवामा नम्बर एक नै रहे । पछि पोखरेलले छलाङ मारेका थिए । यसमा धेरै राजनीतिक प्रभावहरुले कार्य गरेको देखिएको छ । यसकारण पनि बालुवाटारले प्रतिष्पर्धीहरुको इन्स्पेक्टर देखिको कार्यक्षमता मूल्यांकन गरेर निर्णय लिन लागेको बुझिएको छ ।

प्रहरी नियमावली अनुसार जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सार्मथ्यका आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ भन्ने छ । यही आधारमा सबै मापदण्ड हेरेर सरकारले निर्णय लिन लागेको बुझिएको छ । यही आधारमा सिंहलाई बनाउने तयारी भएको विश्वस्त स्रोतले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्