काठमाडौं, बैशाख १८। राजनीतिक दलनिकट वा स्वतन्त्र उम्मेदवारले आर्थिक र सामाजिक विकासका महत्त्वाकांक्षी योजना अघि सारिरहँदा पहिलोपटक मतदान गर्न लागेका युवाले भने उम्मेदवारसँग उनीहरूको घोषणापत्रमा शिक्षा निःशुल्क वा कम शुल्कको हुनुपर्ने र रोजगारीका अवसर उपलब्ध गराउन ध्यान दिनुपर्ने अपेक्षा गरेका छन् ।
गाउँ वा नगरपालिका पदाधिकारीका उम्मेदवारले पूर्वाधार विकास, सामाजिक विकास, पार्किङ, फोहोरमैला व्यवस्थापनसम्बन्धी मुद्दा बढी उठाएको पाइन्छ । दलका केन्द्रदेखि स्थानीयस्तरका घोषणापत्रमा पूर्वाधारलाई बढी जोड दिएका छन् ।
नयाँ संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तहको निर्वाचन भइरहँदा पहिलोपटक मतदान गर्न लागेका युवा ज्यादा उत्साहित नभए पनि आफ्नो भोट हाल्न पाउने अधिकारको प्रयोगमा सचेत पाइएको छ ।
काठमाडौं उपत्यकाका पालिकामा मतदान गर्ने तयारीमा रहेका र चुनावका लागि उपत्यकाबाहिर जान लागेकासँग कुरा गर्दा उनीहरूले उम्मेदवारले धेरै कुरा राख्नुभन्दा थोरै राखेर त्यो पूरा गर्नुपर्ने बताए । पहिलोपटक मतदानमा सहभागी हुन लागेका कतिपय युवाले जोसुकैले जिते पनि फरक नपर्ने बताए पनि सोचेर, बुझेर मात्रै मतदान गर्छु भन्ने धेरै भेटिए ।
पाका उमेरका मानिसले विगतमा केके काम गर्यो वा पार्टीमा के योगदान छ भन्ने हेर्ने गरे पनि युवाले भविष्यको सम्भावनामा बढी जोड दिएको पाइएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।