काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गठबन्धनका बारेमा पार्टीभित्र रहेका असहमति र असन्तुष्टि स्थानीय तहको निर्वाचनपछि समीक्षाको विषय बन्न सक्ने औंल्याएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने, “गठबन्धनबारे पार्टीभित्र एकमत छ भन्ने कुरा होइन । सैद्धान्तिक रुपमा मतभेद प्रकट भएकै हुन् । टिकट वितरणमा केही त्रुटि, कमीकमजोरी भएका छन् । साथीहरुबीच असहमति वा विद्रोह वा असन्तुष्टि छ । तर बागी बगावत धेरै ठाउँमा छ भन्ने होइन । धेरै प्रचारमा आएकाले ठूलो जस्तो देखिएको हो । तर त्यसै कारण एउटा पालिका हार्नु पनि पार्टीलाई क्षति पुग्ने विषय हो । त्यसैले आम साथीहरुले पार्टीको संस्थागत निर्णय बमोजिम अघि बढ्नुको विकल्प छ जस्तो लाग्दैन । अहिलेकै निर्वाचनमा गठबन्धनभन्दा बाहिर गएर वा उभिएर पार्टीको हित हुन सक्दैन । यावत् असन्तुष्टि चुनावपछि समीक्षाको विषय बन्छ ।”
उनले अब निर्णय सच्चाउन सम्भव नभएकाले पार्टी निर्णय कार्यान्वयनमा एकजुट भएर अघि बढ्नुपर्ने बताए । पौडेलले भने, “सधैं गठबन्धन गरेर अर्को पार्टीको उम्मेदवारलाई समर्थन गर्नुपर्ने कुरालाई भरतपुरका साथीहरुले सहज रुपमा लिनुभएको थिएन । तर अब नयाँ प्रक्रियाबाट जाने वा सच्चाउने स्थिति छैन । त्यसैले नेतृत्वले गरेको निर्णय कार्यान्वयन गर्न एकजुट भएर लाग्नुपर्छ । गठबन्धन पनि पार्टीकै हितका निम्ति हो भनेर आह्वान गर्नुपर्छ । जो जो उम्मेदवार तय गरिएको छ, त्यसका पक्षमा परिणाम ल्याउनु आवश्यक छ । भरतपुर मात्र होइन, अन्यत्र पनि परिस्थिति बुझाएर र उदार व्यवहार गरी काबुमा ल्याउन सकिन्छ ।”
कांग्रेस नेता पौडेलले गठबन्धनका कारण महिला प्रतिनिधित्व कम भएको स्वीकारे । उनले भने, “यसपटक गठबन्धनका कारण हामीले धेरै महिलालाई प्रमुख पदमा उम्मेदवार बनाउन सकेनौं । तर राजधानीमा महिलालाई मेयरको उम्मेदवार बनाएका छौं । कांग्रेस एक्लै लडेका बेला महिलाको धेरै प्रतिनिधित्व गराएकै हौं । । तर गठबन्धनमा महिला अनिवार्य नभएकाले अलिकति कम भएको छ । एमालेले पनि गठबन्धन गरेका ठाउँमा महिलालाई प्राथमिकता दिएको छैन । त्यो हामी सबैले मनन गर्नुपर्ने कुरा हो ।”