Logo

चीनले कोरोनाको वास्तविक मृत्यु हुनेको संख्या लुकाएको रिपोर्ट सार्वजनिक



एजेन्सी, १८ वैशाख । चीनले कोरोना महामारीको वास्तविक तथ्यांक लुकाएको रिपोर्ट सार्वजनिक भएको छ। चीनमा पछिल्लो समय कोरोना महामारी फेरि बढ्दै गइरहेको छ। तर, चीनले लामो समयदेखि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने लुकाएको छ।

फाइनान्सियल टाइम्स र ताइवान टाइम्सका अनुसार कोरोना महामारीबाट मृत्यु भएकाहरुलाई क्यान्सर, मुटु रोग र मधुमेहबाट मृत्यु भएको बताउने गरेको पाइएको छ। चिनियाँ सरकारले अस्पतालहरुलाई नै कोरोना महामारीबाट मृत्यु भएको मृत्यु प्रमाणपत्रमा उल्लेख नगर्न निर्देशन जारी गरिएको छ।

हङकङ विश्‍वविद्यालयका भाइरोलोजिस्ट जिन दोङ यानले चीनमा कोरोना महामारीको वास्तविक तथ्यांक नै सार्वजनिक नगरेको बताएका हुन्। कोरोना महामारी सुरु भएदेखि नै चीनले कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या लुकाउँदै आएको छ।

चीनले चार लाख ४३ हजार संक्रमितमध्ये दुई जनाको मात्रै मृत्यु भएको तथ्यांक सार्वजनिक गरेपछि आशंका थप उब्जिएको हो। फाइनान्सियल टाइम्सले भने स्रोतलाई उदृत गर्दै यस अवधिमा कोरोनाका कारण आफ्ना आफन्तहरु गुमाएको भन्दै धेरैले जानकारी गराएका छन्।

चीनमा कोरोनाको नयाँ लहर सांघाईबाट सुरु भएको हो। अहिले राजधानी बेइजिङसहित विभिन्‍न सहरहरुमा संक्रमण फैलिएको छ। जसका कारण कडा प्रतिबन्धसहित देशभरका विद्यालय बन्द गरिएका छन्।



प्रतिक्रिया दिनुहोस्