Logo

विदेशी मुद्रामा ऋण ल्याउँदै सरकारी बैंक



काठमाडौं, बैशाख १९। उच्च शोधनान्तर घाटाका कारण विदेशी विनिमय सञ्चिति घटिरहेका बेला अर्थ मन्त्रालयले सरकारी स्वामित्वको बैंकलाई विदेशी मुद्रामा ऋण ल्याउन स्वीकृति दिएको छ ।

अर्थ मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकलाई अधिकतम १० करोड अमेरिकी डलरसम्म वैदेशिक ऋण ल्याउन सहमति दिएको हो । यसअघि नेपाल राष्ट्र बैंकले निजी बैंकले विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गरेको थियो ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख रमेशकुमार केसीले अर्थको स्वीकृतिसँगै ऋण लिनका लागि प्रक्रिया अघि बढाउन बैंकलाई बाटो खुलेको बताए । राष्ट्रिय वाणिज्य बैंकका अनुसार सैद्धान्तिक सहमतिअनुरूप दुई किस्तामा उक्त ऋण लिने तयारी छ । अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेर ऋण ल्याउने पनि बैंकले बताएको छ ।

प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आवश्यकताका आधारमा ऋण लिने प्रक्रिया यसै महीनाबाट शुरू गरिने बताए । ‘कति प्रतिशत ब्याजदरमा ऋण दिन को को इच्छुक छन् र कुन निकायसँग लिन सकिन्छ यसबारे आशयपत्रका लागि बोलपत्र आह्वान गर्दै छौं,’ उनले भने ।

उनका अनुसार राष्ट्रिय वाणिज्य बैंकले यसअघि विदेशबाट ऋण ल्याएको छैन । यो नै पहिलोपटक रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot