रुपन्देही, १९ बैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) रुपन्देहीले बागी उम्मेदवारी दिएका १५ जनालाई कारबाही गरेको छ । एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिनेहरुलाई साधारण सदस्यसमेत नरहने गरी निस्कासन गरेको हो ।
एमाले रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसीले निकालेको विज्ञप्तीमा आजकै दिनबाट लागुहुने गरी साधारण सदस्यसमेत नरहने गरी सबै जिम्मेवारीबाट हटाएको उल्लेख गरिएको छ ।
एमालेले हरिबहादुर तामाङ, तोलराज बिक, पदम थापा, इन्द्रजीत यादव, ओमसतिया ४ का बेचुराम जयसवाल र रामशंकर चाई, अनिता हरिजन, कान्छा कोहार, नन्दकिशोर कुर्मी, पशुपतिनाथ यादव र बबिता आचार्य, श्रीप्रसाद श्रेष्ठ, नरेन्द्रप्रताप सिंह, हरि पाण्डे र हरि पौडेललाई पार्टीबाट निस्कासन गरेको जनाएको छ ।