काठमाडौं, १९ बैशाख । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आचारसंहिताको कार्यान्वयन नगर्ने उम्मेदवारको उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगले चेतावनी दिएको छ ।
आज एक विज्ञप्ती जारी गर्दै आयोगले आचारसंहिता विपरित पोस्टर, भित्ते लेखन आदी गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको हो ।
‘आयोगद्धारा कार्यान्वयनमा ल्याएको आचार संहिता २०७८ अनुसार कुनै पनि सार्वजनिक स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राख्न वा टाँस्न नहुने र कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स र ग्लुसाइड बोर्ड राख्न तथा श्रव्य सामाग्री बजाउन र श्रव्यदृश्य सामाग्रीहरु प्रदर्शन गर्न नहुने प्रावधान रहेको छ ।’–आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
आयोगले कुनै उम्मेदवारले आचार सहिंता उल्लघंन गरेको कारणबाट निर्वाचन धाँधलीरहित हुने भएमा उम्मेदवारी खारेज गर्न सक्ने समेत चेतावनी दिएको हो ।